तपाइँ के बन्नेः लेखनदास, हुलाकी वा पत्रकार ?

जसरी अपराध नगरे पनि अपराध होउन्जेल रमिता हेरिरहने व्यक्ति पनि उक्त अपराधको मतियार भनी सजायँको भागिदार बन्दछ, ठीक त्यसैगरी समाजका गलत गतिविधिहरुलाई बुझेर पनि कुनै स्वार्थका कारण मौन रहने मिडियाहरु पनि सामाजिक अपराधका हिस्सेदार हुन्छन् । तिनले पत्रकारिताका नाउँमा राज्यका सुविधाहरुको दुरुपयोग गर्ने अधिकार छैन ।

कुनै पत्रकार सम्मेलनमा गयो, कुरा सुन्यो, रिपोर्ट बनायो, अनि छाप्यो, बजायो वा अनलाइनमा हाल्यो । यति गरेकै आधारमा तपाइँले आफूलाई पत्रकार दाबी गर्न मिल्छ ? मिल्दैन । अर्काको कुरा सुनेर त्यसैअनुसार लेख्ने व्यक्तिलाई लेखनदास भन्छन् । अर्थात् लेख्ने कुरामा आफ्नो विवेक र समालोचनात्मक क्षमताको प्रयोग गर्न नसक्नु वा दास हुनु । पत्रकारिताका मूल्यमान्यताहरु प्रतिकूल हुने गरी कुनै व्यक्ति वा समूहले दिएको आदेशलाई जागिर जोगाउने बहानामा वा कुनै लालचका कारणले शीरोपर गरी पेसागत धर्मबाट च्युत हुनु पनि लेखनदास हुनु हो ।

श्रमजीवी हुनु र लेखनदास हुनु नितान्त फरक कुरा हुन् । श्रमजीवीले पेसागत मूल्यमान्यताहरुसँग सम्झौता गर्दैन, आचारसंहिताको दायराबाट विमुख हुँदैन, कदाचित् भइहालेमा पनि आफूलाई सच्याउँछ, भूलसुधार गर्छ । लेखनदासले त्यसो गर्दैन । व्यावसायिक मापदण्डहरुमा सम्झौता गर्छ र गल्तीहरुलाई थाहा नपाएझैं गर्छ, पचाउँछ । अचेल ‘श्रमजीवी’ दाबी गर्ने लेखनदासहरुलाई नेता, व्यापारी वा कुनै सरोकारवाला समूहले घरघरमै डिनरका लागि निम्त्याउँछन्, जहाँ डिनर आयोजकका कुण्ठालाई भाषण भनेर सुनिदिनु, औपचारिक प्रश्नहरु सोधिदिनु र यहाँजस्तो विद्वान् भनेर हल्काफुल्का चाप्लुसी समेत गरिदिनु पर्दछ । त्यत्तिले मात्रै पुग्दैन, आ–आफ्ना मिडियामा आयोजकले भनेबमोजिम प्रकाशन/प्रसारण गरिदिनु पर्दछ । उनीहरुले भनेजस्तो गर्न सकियो भने वर्ष दिन नपुग्दै पत्रकारितामार्फत् फलानो क्षेत्रमा अपूर्व योगदान गरेको भनी सम्मान लिने सूचिमा दर्ता हुन सकिन्छ । कुनै पक्ष वा समूहको नुनको सोझो गर्नु र त्यसबापत बेलाबेलामा नगद-जिन्सी थाप्नु भनेको लेखन्दास हुनु हो, पत्रकार हुनु होइन ।

नेपालमा धेरैजसो पत्रकारले हुलाकीको काम गरेका छन्— खबर पुर्याइदिने । हुलाकीले कसैको खबरलाई परिमार्जन गर्न पाउँदैन । सूचनाको विषयवस्तुलाई जस्ताको तस्तै पुर्याउनु नै उसको धर्म हो । तर, पत्रकारहरुले पनि भेला पारिएका सूचनाहरु तस्ताको तस्तै प्रस्तुत गरे, समाचारको विश्वसनीयतमाथि थप अध्ययन गरेनन्, अन्य स्रोतहरुसँग भिडाएर तथ्यलाई रुजु गरेनन् भने पत्रकार कुनै हुलाकी भन्दा फरक हुँदैन । उदाहरणका लागि पुलिसले जे भन्छ, त्यहि पत्यायो, नेताले जे बोल्छ, त्यहि बजायो, कुनै ‘पीडित’ जे भन्यो, त्यहिअनुसार फिचर बनायो भने हुलाकी भइयो, पत्रकार भइएन । यी व्यक्तिहरुले भनेका कुरा जाँच्न तपाइँले के गर्नुभयो वा भएन, त्यसले तपाइँ पत्रकार वा हुलाकी के हो भन्ने निर्धाण गर्दछ ।

नेपालका धेरै पत्रकारहरु विभिन्न कारणले गर्दा आफैं तथ्यहरु खोजेर समाचार बनाउन सक्ने अवस्थामा छैनन् । उनीहरुलाई अरुले नाटक मञ्चन गरेर समाचारमूलक सन्दर्भ बनाइदिनु पर्दछ, जस्तै ः कसैले पत्रकार सम्मेलन गरेर डाकिदिनु पर्दछ वा प्रेस विज्ञप्ति बनाएर अफिसमा इमेल वा फ्याक्स गरिदिनु पर्दछ । अझ, कुनै अनुसन्धानको ठूलो रिपोर्ट छ भने समाचार बनाउन मिल्ने गरी त्यसको संक्षिप्त टिपोट समेत नत्थी गरेर पठाइदिनु पर्दछ । ‘पत्रकार’ पढ्ने फुर्सत् छैन । गतिलो खान्तेपिन्ते नभएका कार्यक्रममा वा कुनै मन्त्री, नेता बिनाका कार्यक्रममा चल्तीको पत्रकार जान भ्याउँदैन । कार्यक्रम सकिए लगत्तै आयोजकले कसले के बोले भनेर पत्रकारलाई फोनमा टिपाइदिनु पर्दछ । ताकि भोलीको अंकमा हाम्रा संवाददाताले जनाएअनुसार भनेर लेख्न पाइयोस् ।

समाचारकै शैलीमा तयारी अवस्थामा प्राप्त हुने यस्ता सूचनालाई ‘जंक इन्फरमेसन’ भनिन्छ, जसलाई पत्रकारले थप पुष्टि नगरीकनै समाचार बनाउँछ । जसरी जंक फुडले मोटोपन, रक्तचापमा वृद्धि, हृदयघात जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ, त्यसैगरी, जंक इन्फरमेसनले पत्रकारको आलोचनात्मक क्षमता घटाउँछ, परनिर्भरता बढाउँछ । जंक इन्फरमेसनमा बानी परेको पत्रकार फिल्डमा भन्दा पनि फेसबुक र ट्विटरजस्ता सोसल मिडियाबाट समाचार खोज्न अभ्यस्त हुन्छ किनभने यो कम खर्चिलो र कम झन्झटिलो छ । कसैको कपि गरेर आफ्नोमा पेस्ट गरे पुगिहाल्यो । यसरी भेला पारिएको ‘जंक इन्फरमेसन’ले नेपाली पत्रकारिताको गुणस्तर ह्वात्तै घटाएको छ ।

अर्कातिर, लेखनदास वा हुलाकीको भूमिकामा भएको व्यक्तिलाई साच्चिकै पत्रकारमा रुपान्तरण गर्ने योजना नेपालका अधिकांश समाचार संस्थामा छैन । एकाधबाहेक पत्रकारको क्षमता अभिवृद्धि गर्न सम्बन्धित मिडियाले सुको खर्च गर्दैनन् । मिडियाका मालिकहरुलाई पत्रकार सुनको फुल पार्ने कुखुराजस्तै हो, जागिर दिएपछि सूचना आफैं खोज्छ भन्ने मात्र थाहा छ । त्यो सूचना जहाँबाट जस्तोसुकै प्रक्रियाबाट प्राप्त भएको किन नहोस् । अझ, पत्रकारिता भन्ने कुरा काम गर्दै गएपछि उसै जानिन्छ भन्नेहरुको एउटा पुस्ता नै थियो, जो अचेल हराउँदै गएको छ । मिसन पत्रकारिताका नाउँमा खुलेका संस्थाहरुले पत्रकारलाई राजनीतिक आग्रह-पूर्वाग्रहको घेराबाट उँभो लाग्न दिएका छैनन् । पत्रकारले आफ्नो ज्ञान, सीप र विवेकको प्रयोग गरेर सर्वसाधारणका लागि समाचार लेख्न सक्दैन, मिडिया मालिकको स्वार्थअनुकूल छ कि छैन, विज्ञापनदाताहरुलाई असर पर्छ कि पर्दैन भन्ने तनाबबाट गुज्रनु पर्दछ । तसर्थ, आफ्नो विवेकलाई बन्धक राखेर मिडिया मालिकको आदेश अनुसार गर्नु पत्रकारको बाध्यता हो । तर, यो बाध्यताले उसलाई पत्रकार कम र लेखनदास बढी बनाइरहेको छ ।

पत्रकारले आफ्नो विवेकलाई बन्धक राखेर मालिकको आदेशअनुसारका विज्ञापन बनाएका दर्जनौं उदाहरण छन् । वि. सं. २०६० कात्तिक २ गते कान्तिपुर दैनिक, द काठमाडौ पोस्ट, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनबाट रसेन्द्र भट्टराईका अन्तर्वार्ता एवम् फिचरहरु महत्वका साथ प्रकाशन/प्रसारण गरियो । ती समाचार एवम् अन्तर्वार्ताहरुमा पाँच डलर खल्तीमा हालेर विदेश भासिएको रसेन्द्र २० वर्षमा फर्कँदा खरबौंको मालिक भएको दलिल गरिएको थियो । त्यसबेला कान्तिपुर र द काठमाण्डु पोस्टका वरिष्ठ पत्रकार सम्पादक युवराज घिमिरे थिए । एउटा व्यक्तिका बारेमा सञ्चारमाध्यमले अतिरञ्जन गर्नु हुँदैन भन्ने पक्कै थाहा थियो, तर मिडिया मालिकहरुका अघि उनको केहि चलेन । अन्ततः युवराज घिमिरेले कान्तिपुरबाट राजीनामा दिए । त्यो समाचार पूर्णतः गलत र कपोलकल्पित थियो भनी समयक्रममा पुष्टि भयो ।

नागरिक दैनिकले चितवन मेडिकल कलेजका निर्देशक डा. भक्तमान श्रेष्ठलाई माओवादीले अपहरण गरेको समाचार प्रकाशन गर्यो । महिनौं सम्म फलोअप समाचारहरु प्रकाशन भइरहे । अन्तमा, कुनै आपराधिक समूहले अपहरणमा परेको समाचार पुष्टि हुँदा समेत क्षमायाचना गरेन । नागरिकका सम्पादकहरुलाई कुन शक्तिले माओवादीका विरुद्धमा उचाल्यो, समयक्रममा थाहा होला । नागरिक दैनिक र यसैको सहप्रकाशन द रिपब्लिका डेलीले राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन सचिव विशाल खनाललाई भ्रष्टाचारी भएको पुष्टि गर्न र अदालतको फैसलालाई प्रभाव पार्न अनेक प्रयत्नहरु गरे । सबै कानुनी एवम् छानबिन प्रक्रियाले विशाल खनाललाई निर्दोष पुष्टि गर्दा समेत ती अखबारहरुले आफ्नो त्रुटि सच्याउने साहस गरेनन् । ती अखबारका मुख्य लगानीकर्तासँग आयोगका तत्कालीन सदस्य डा. लिला पाठकको घनिष्ठ सम्बन्ध भएको र त्यसको दूरुपयोग भएको बुझ्न धेरै समय लागेन ।

यस्तै अर्को एउटा प्रसंग । भारतीय लगानीमा खुलेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) खराब व्यवस्थापनका कारणले वा नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्न नसकेर घाटामा गयो । तर, कम्पनीले उसले नेपाल सरकारलाई करिब एक अर्ब राजस्व बुझाउनु पर्ने थियो । तर सरकारले जति ताकेता गर्दा पनि भारतीय राजदूतावासको रवाफ देखाएर धेरै वर्षसम्म राजस्व नतिरी चलिरह्यो । यो समस्या अझै पनि सल्टिएको छैन । तर, युटिएलको गलत रबैयाबारे मिडियामा टिप्पणीहरु प्रकाशन हुन थाले । आफ्नो बारेमा आलोचनात्मक टिप्पणीहरु आउन थालेपछि युटिएलले ठूला सञ्चारमाध्यममा विज्ञापन दिएर चूप लगाउने रणनीति अख्तियार गर्यो । नभन्दै विज्ञापन पाउने सबै मिडिया चुप भए । जसले विज्ञापन पाएनन् तिनले केहिसमयसम्म लेखे तर त्यो प्रभावकारी भएन । नेपालका मिडियालाई बजारले कसरी चूप लगाउँछ भन्ने गतिलो उदाहरण हो युटिएल प्रकरण । कसैको विज्ञापन प्रकाशन गर्नु भनेको उसका त्रुटि कमजोरीहरुप्रति आँखा चिम्लिनु होइन । विज्ञापन पाउने लालचमा देशको अर्बौंको राजस्व डुबाउने खेलमा प्रत्यक्ष वा परोक्ष रुपमा अधिकांश मिडिया संलग्न छन् । विज्ञापन गुम्ने डरले, जागिर जाने डरले वा कुनै लाभ लिने उद्देश्यले सार्वजनिक महत्वको कुनै कुरा प्रकाशन प्रसारण नगर्नुलाई सेल्फ–सेन्सरसिप भनिन्छ, जसले पत्रकारितामा लेखनदास प्रवृत्तिलाई मलजल गर्दछ ।

कुनै अनुसन्धानात्मक अध्ययन गर्नु पर्दा समयमा तलब समेत नपाउने पत्रकार आफैं खर्च गरेर जान सक्ने अवस्था छैन । सम्बन्धित संस्थाले आवश्यक लगानी गरेर पठाउँदैन । तसर्थ, गहन रिपोर्टिङका लागि कुनै एनजिओ, सेना-पुलिस वा सरकारी निकायको भर पर्नु पर्दछ, जसले पत्रकारलाई लाग्ने सामान्य खर्च मात्रै व्यहोर्दैनन्, आकर्षक भत्ता समेत दिन्छन् । मानौं, सेनाले सबै खर्च व्यहोरेर कुनै घटना देखाउन पत्रकारलाई लगेपछि उसले पनि आफ्नो पक्षमा सकारात्मक सन्देश प्रवाह होस् भन्ने चाहन्छ । विभिन्न देशमा शान्ति सेनामा खटिएको नेपाली सेनाले आफ्नो पौरखबारे रिपोर्टिङ गर्न पत्रकार लैजाने गरको छ । त्यहाँको स्थलगत अध्ययन गरेका पत्रकारले त्यहाँको सैनिक ब्यारेकले हतियार तथा बन्दोबस्तीका सामग्रीमा भएको भ्रष्टाचार बाहिर ल्याउन सक्दैन किनभने पत्रकार सेनाको रसदपानीमा त्यहाँ पुगेको छ । यो सुत्र एनजिओहरुमा अझ बढी लागु हुन्छ, जसले आफ्नो पौरख देखाउन मोटो भत्ता दिएर पत्रकारहरुलाई विभिन्न ठाउँमा स्थलगत भ्रमण गराउँछन् । सम्बन्धित पत्रकारहरुले एउटा दुईटा घटनामा आधारित भएर देशमै भव्य परिवर्तन भएको समाचार लेख्छन् । आफू कसको प्रायोजनमा त्यो स्थानमा पुगें वा कुन प्रक्रियाबाट त्यो समाचार प्राप्त भएको हो भनेर पाठकलाई भन्दैनन् । कुरा नचपाइकन भन्नु पर्दा यस्तो गर्नु व्यावसायिक बेइमानी हो, पत्रकारिताका नाउँमा लेखनदास प्रवृत्ति हो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले विभिन्न जिल्लामा सञ्चालित गतिविधिले पारेको सकारात्मक प्रभावका बारेमा महिनाको एउटा समाचार प्रकाशन गरिदिए निश्चित रकम उपलब्ध गराउने भनी शिक्षक मासिकलाई दुई वर्षअघि एउटा प्रस्ताव पठाएको थियो । त्यो प्रस्तावलाई उक्त पत्रिकाले स्वीकार गर्यो कि गरेन, त्यो थाहा भएन । तर, यसले खेलकुद क्षेत्रमा हुने म्याच फिक्सिङ जस्तो खतरनाक प्रवृत्तिलाई उजागर गर्दछ । भारतमा यसलाई ‘पेड न्युज’ (सःशुल्क समाचार) भन्न थालिएको छ । अरुको पारदर्शिताका बारेमा गाली, आलोचना, उपदेश गरेर नथाक्ने मिडियाले कुन कुन संस्थाबाट के–कस्तो सर्तमा कसरी नगद वा जिन्सी वा अन्य प्रकारको सहयोग प्राप्त गरिरहेको छ भन्ने कुरा सार्वजनिक गर्नु आवश्यक छ । यसले गर्दा मिडियाको पारदर्शिता र जवाफदेहिता बढ्छ । कुन मिडिया कोसँग किन वफादार भइरहेको छ भन्ने कुरा सर्वसाधारणलाई थाहा हुन्छ ।

पत्रकारिता जागिर मात्रै होइन, यो समाजलाई जीवन्त राख्ने अभियान हो । सामाजिक हितविरुद्ध हुने गतिविधिहरुबाट सञ्चार संस्था र पत्रकारहरुसमेत टाढा रहनु पर्दछ । जसरी अपराध नगरे पनि अपराध होउन्जेल रमिता हेरिरहने व्यक्ति पनि उक्त अपराधको मतियार भनी सजायँको भागिदार बन्दछ । ठीक त्यसैगरी समाजका गलत गतिविधिहरुलाई बुझेर पनि कुनै स्वार्थका कारण मौन रहने मिडियाहरु पनि सामाजिक अपराधका हिस्सेदार हुन्छन् । तिनले पत्रकारिताका नाउँमा राज्यका सुविधाहरुको दुरुपयोग गर्ने अधिकार छैन । पत्रकारिताको आदर्शलाई चिनौं, लेखनदास र हुलाकी हुन छाडौं । सक्रिय पत्रकारिता गरौं ।

Leave a comment