गोकुल भर्सेस गोयबल्स

२०७६ जेठ ६ सोमबार NepalLive.com मा प्रकाशित 

Screenshot 2020-02-01 10.19.45

‘गोकुल’ र ‘गोयबल्स’ सुन्दा उस्तै लाग्छन्। पेसागत जीवनको सुरुमा हिटलरका प्रोपगन्डा मन्त्री जोसेफ गोयबल्स राजनीतिक प्रोपागन्डायुक्त पर्चा लेख्ने व्यक्ति थिए। वर्तमान सरकारका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि पत्रकारिताको आड लिएर राजनीति गरे। हिजोआज त गोयबल्ससँग गोकुलप्रसादको स्वभाव र प्रोपागन्डा शैली पनि मिल्छ। यस लेखमा इतिहास र वर्तमानका यी दुई पात्रहरुको तुलना गरिएको छ। गोयबल्सका सञ्चार रणनीतिहरुलाई बुझ्न सकियो भने अहिलेका गोकुलप्रसादको बारेमा अझ बढी बुझ्न र विश्लेषण गर्न सकिन्छ।

१. राजनीतिका लागि पत्रकारिता
गोयबल्स अनपढ थिएनन्। उनले सन् १९२१ मा साहित्यमा विद्यावारिधि गरेका थिए। त्यसको तीन वर्षपछि मात्रै उनी नाजी पार्टीमा प्रवेश गरेका थिए। सार्वजनिक भाषणकलामा निपुण थिए। गोयबल्सले सन् १९२७ ताका ‘देर अंग्रिफ’ (आक्रमण) शीर्षकको पत्रिका चलाए, जसको उद्देश्य नाजी पार्टीप्रति जनसमर्थन जुटाउनु र पार्टीको उग्रराष्ट्रवादी धारको प्रवर्द्धन गर्नु थियो। सन् १९३३ मा हिटलरको नाजी पार्टी बहुदलीय प्रतिस्पर्धाबाटै सत्तारुढ भयो। उनी हिटलरका सबैभन्दा विश्वासपात्र व्यक्ति थिए।

तत्कालीन नेकपा एमालेका महासचिव माधव नेपाल हुँदादेखि नै गोकुलप्रसाद केपी ओली गुटमा सक्रिय थिए। दृष्टि लगायतका वामपन्थी पत्रपत्रिकामा काम गर्नेबाहेक उनी ओली गुटको मुखपत्र मानिने ‘सम्बोधन साप्ताहिक’का सम्पादक थिए। यिनको काम बामदेव गौतम, सिपी मैनालीका गुटहरुको आलोचना गर्ने र केपी ओलीवादको प्रशंसा गर्ने थियो। ओली तत्कालीन एमालेको अध्यक्षमा निर्वाचित भएपछि बाँस्कोटाको भाग्य बल्यो। वामपन्थमा रहेर पत्रकारिता गर्ने नारायण ढकाल, गोपाल थपलिया, श्यामल, अग्निशिखा, हिरण्यलाल श्रेष्ठ, विष्णुप्रभात, किशोर श्रेष्ठ, शम्भु श्रेष्ठ, सुवास देवकोटा लगायतको दाँजोमा यी निकै कनिष्ठ हुन्। केपी ओली गुटमा हुनु र नुनको सोझो गर्ने विशेषताले वरिष्ठहरुलाई पाखा लगाउँदै यी ‘लाइमलाइट’मा आए र सञ्चारमन्त्री भए। यिनी यति विश्वासिला पात्र हुन्, जसले वर्तमान प्रधानमन्त्री ओलीको बालकोट निवासमा बस्ने सौभाग्य पाएका छन्।

२. प्रेसमाथि नियन्त्रण र दमन
प्रोपागन्डा मन्त्री हुनेबित्तिकै गोयबल्सले त्यसबेला उपलब्ध सञ्चार प्रविधि रेडियो र सिनेमामा आफ्नो पकड जमाए। कुर्तक र दुष्प्रचारका लागि ती माध्यमहरुको प्रयोग गरे। पत्रकारहरुको तत्कालीन संगठन ‘एसोसिएसन अफ द जर्मन प्रेस’लाई आफ्नो नियन्त्रणमा ल्याए। उनकै प्रोपागन्डा मन्त्रालयले पत्रकारको आचारसंहिता बनाइदियो। उक्त मन्त्रालयमा दर्ता भएर मात्रै पत्रकारले काम गर्न अनुमति पाउन थाले। कस्ता समाचार प्रकाशन गर्ने, कस्ता नगर्ने भनेर प्रोपागन्डा मन्त्रालयले निर्देशिका नै जारी गर्‍यो। स्वदेश वा विदेशमा जर्मनी वा त्यहाँको सरकारको छवि धुमिल्याएको आरोपमा कुनै समाचार प्रकाशन/प्रसारण गरेबापत पत्रकारलाई सोझै श्रम शिविरमा पठाउने व्यवस्था गरियो, जहाँ मृत्युदण्ड समेत हुन सक्थ्यो। हिटलरका विचार वा नाजी पार्टीको दर्शनलाई प्रवर्द्धन हुने गरी समाचार, विचार, सम्पादकीय आदि लेख्नु पर्ने बाध्यता थियो। हिटलरले आफूलाई जर्मनीको चान्सलर घोषणा गरेपछि प्रोपागन्डा मन्त्रालयले जर्मनीका स्वतन्त्र प्रेसलाई सिध्याए।

यता, सञ्चारमन्त्री हुनेबित्तिकै गोकुलले आफ्नो धरातल बिर्से। दिन प्रतिदिन पत्रकारमाथि हाबी भए। उनीहरुमाथि खनिए। उनीहरुलाई पत्रकारिता र आचारसंहिताको उपदेश दिन थाले। पत्रकारलाई हप्कीदप्की मात्रै होइन, सरकारको आलोचना गर्ने पत्रकारहरुलाई ‘दसैंभत्ता लिन आउनू’ समेत भने। गोयबल्सले मन्त्री भएलगत्तै नाजी पार्टीविरुद्ध टिप्पणी लेख्ने अखबार ‘नेसनलेर सोजिअलिस्ट’को सन्ध्याकालीन संस्करण बन्द गरिदिए। गोकुलप्रसादले पनि सत्तारुढ हुने बित्तिकैको चर्चित काम भनेको नेपाल टेलिभिजनको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्ता कार्यक्रम बन्द गरे। गत वर्ष जेठ १२ गते नेपाल टेलिभिजनबाट प्रसारित मन्त्री बाँस्कोटासँगको अन्तर्वार्ता कार्यक्रममा पत्रकार राजु थापाले ‘कम्युनिस्टले दाइजो लिन मिल्छ त। तपाईंहरु त झन् दाइजोविरोधी। किन यस्तो?’ भनेर प्रश्न सोधे। भर्खरैको एभिन्युज अन्तर्वार्ता काण्डमा उपेन्द्र यादवले जस्तो  गोकुलप्रसादले अन्तर्वार्ताकक्ष नै छाडेर चाहिँ हिँडेनन्। कार्यक्रम अवधिभरि लिँडेढिपी र कुतर्क गरेर बसे। तर, लगत्तै टेलिभिजनको उक्त कार्यक्रम नै बन्द गरिदिए। नेपाली प्रेसका प्रति गोकुलप्रसादको असली अनुहार त्यहीबेला प्रमाणित भएको थियो।

एकातिर प्रधानमन्त्री आफ्नो कार्यालयलाई शक्तिशाली बनाउन लागिपरेका छन्। अर्कातिर सञ्चारमन्त्री पनि आफ्नो गच्छेले भ्याएसम्म मातहतका कार्यालयलाई आफ्नो पैतालामुनि राखेर दबाउन र पत्रकारिताका नाउँमा आफूले चाहेअनुसारको ‘गुटपत्र’ चलाउन उद्यत छन्। केही दिनअघि राष्ट्रिय समाचार समितिले तिब्बती धर्मगुरु दलाई लामा दिल्ली अस्पतालमा उपचार गराएर फिर्ता भएको छोटो समाचार राससको ‘न्युजफिड’मा पठाएको थियो। त्यो सामान्य समाचार थियो। नेपालले एक चीन नीतिलाई समर्थन गरेको भए पनि दलाई लामासम्बन्धी समाचारै नलेख्ने, नछाप्ने भन्ने नीति रासस लगायत कुनै सरकारी मिडियामा छैन। फेरि त्यो समाचार प्रकाशन गरेको भनेर चीनले कुनै आपत्ति जनाएको पनि छैन। तर, ‘राष्ट्रपति चीन भ्रमणमा रहेका बेला’ भन्ने बहाना बनाएर गोकुलप्रसाद सत्तारुढ राजनीतिक झुकाव इतरका तीन जना पत्रकारलाई कारबाही गर्न तम्सिए। यस विषयमा राससले आफैं निर्णय लिन सकेको छैन। मन्त्रीजीको चाहना अनुसार सञ्चार मन्त्रालयले दिएको निर्देशनमा राससले ल्याप्चे लगाउने पक्का छ।

३. प्रोपागन्डाका लागि प्रेस
अहिले प्रस्ताव गरिएका चार विधेयकहरु उनीहरुले सोचेकै अवधारणामा पास गराउन सके भने गोयबल्सको प्रोपागन्डा मन्त्रालय र गोकुलप्रसादको सञ्चार मन्त्रालय उस्तै हुन्छ। गोकुलप्रसादले पनि निजी प्रेस बन्द गराउन सक्छन् वा आफ्नो इच्छा र प्रधानमन्त्रीले भनेका कुरालाई नै राजनीतिक आदर्श मानेर समाचार, विचार र सम्पादकीय टिप्पणीहरु छपाउन सक्छन्। गोयबल्सले जस्तै गोकुलले पनि कुनै गलत कुरा हजार पटक दोहोर्‍याए सत्य हुन्छ भन्ने दलिल पेस गर्न सक्छन्। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेपछि सरकारले इन्टरनेटमा यौनउत्तेजनायुक्त सामग्रीहरु (पोर्नोग्राफी) आएकाले बलात्कार बढेको निष्कर्ष निकाल्यो। गोकुलप्रसाद आफैं अग्रसर भएर हजारौं वेबसाइट बन्द गर्न लगाए। तर, बलात्कार र अपराधका घटनामा कमी आएको कुनै अध्ययन वा तथ्यांक उपलब्ध छैन। बन्द गर्नुपर्ने कारण पनि हावा नै थियो। त्यसको प्रभाव पनि हावामै बिलय भएजस्तो छ। हातमा संसारका सूचनाको पहुँच बोकेर हिँडेको मान्छेलाई यिनीहरुले वेबकुफ बनाउन खोजे। यिनको बलात्कारसम्बन्धी मुढेतर्क भारतमा एकजना मन्त्रीले ‘समलिंगी हुनु रोग हो, उपचार गरे निको हुन्छ’ भने जस्तै हो।

गोयबल्सले भनेका छन्, ‘थिंक अफ द प्रेस एज अ ग्रेट किबोर्ड अन ह्विच द गभन्मेन्ट क्यान प्ले।’ अर्थात् प्रेसलाई यस्तो सुन्दर किबोर्डको रुपमा सोच्नुपर्छ, जसमा सरकारले मजासँग आफू अनुकूलका धुन बनाउन सकोस्। गोकुलप्रसादको प्रेसप्रतिको दुराग्रह पनि यो भन्दा पृथक् छैन। मानौं यिनले गोयबल्सभन्दा अरु पढेकै छैनन्। यिनकै अग्रसरतामा भर्खरै संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई बढी दण्ड जरिवाना भएको, प्रेस काउन्सिलको स्वायत्त हैसियत हटाएर सञ्चार मन्त्रालयको शाखा बनाउन खोजेको, आफू अनुकूल काउन्सिलमा मान्छे भर्ना गर्ने र हटाउने प्रावधान राखेको भनी चर्को आलोचना भइरहेको छ। पत्रकारहरुले गोकुलप्रसादलाई सार्वजनिक कार्यक्रममा बहिष्कार गर्नेदेखि कालोपट्टी बाँधेर काम गर्ने गरिरहेका छन्। यसैबीच यिनले अमेरिकामा पत्रकारलाई एक करोड जरिवाना, आजीवन कैद र मृत्युदण्ड समेत हुने बताएर आफ्नो मुर्खताको परिचय फेरि छताछुल्ल पारे। यिनको बठ्याइँ र विद्वताको कुरा नगरौं। यिनले सरकारलाई बुझाउनुपर्ने सम्पति विवरणमा आफूसँग भएको मोबाइल फोनलाई ‘सामसुङको आइफोन’ भनेर उल्लेख गरेका थिए।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु लुकाउन यिनले हप्तादिनमा पत्रकार सम्मेलन गर्ने रणनीति अपनाए। एक हप्ताभित्र कतिपय निर्णयहरु पुराना भइसक्छन्। यिनले सरकारका कतिपय नियुक्ति, सेवासुविधा वृद्धि, खरिद, ठूला ठेक्कापट्टा सम्बन्धी निर्णय, कार्यकर्तालाई आर्थिक सहयोग जस्ता विवादास्पद निर्णयहरु लुकाउने र पत्रकारले प्रश्न गरे ‘खोजीपत्रकारिता गर’ भनेर उपदेश दिने गरेका छन्।

४. बदनामीको सगरमाथा
गोकुलप्रसाद सञ्चारमन्त्रीमा नियुक्त भएका बेला सामाजिक सञ्जालमा वा भेटेरै बधाई दिनेहरु अहिले यिनले प्रेस स्वतन्त्रताको हुर्मत लिन खोजेको देखेर विरक्तिएका छन्। ओली सरकारको विगत एक वर्षको सुस्त काम गराई र चुलिँदो आलोचनाले गर्दा गोकुलप्रसादको काँधमा ‘जसरी पनि सरकारको आलोचना रोक्नू’ भन्ने जिम्मेवारी होला। यिनको अहंकारपूर्ण प्रस्तुति र जिद्दी स्वभाव देख्दा ओलीका खातिर गोयबल्स त के बदनामीको सिंगै सगरमाथा उठाउन तयार छन् जस्तो लाग्छ।

हुन त गोकुलप्रसाद नेपालको पहिलो गोयबल्स पनि होइनन्। यीअघि टंक ढकाल, श्रीष समसेर राणा, कमल थापाहरुले नेपाली पत्रकारिता र प्रेसप्रति यस्तै निरंकुश शैली अवलम्बन गरेका थिए। तर, यति कुरा सत्य हो कि प्रेस स्वतन्त्रताको कसीमा भूपू सञ्चारमन्त्रीहरुको बजारमा जे भाउ छ, त्यसभन्दा निकै तल गोकुलप्रसादको भाउ हुनेछ। गोयबल्सले भनेका थिए, ‘हामी इतिहासमा कि त उत्कृष्ट राजनेता हुन्छौं, कि निकृष्ट अपराधी।’ गोयबल्स दोस्रो वर्गमा परे। गोकुलप्रसाद पनि पहिलो वर्गबाट निकै टाढा पुगिसकेका छन्।

दोस्रो विश्वयुद्ध अघिसम्म सञ्चार, जनसम्पर्क वा विज्ञापन जस्ता कुरालाई सकारात्मक हिसाबले प्रोपागण्डा भनिन्थ्यो। अहिलेको सञ्चार मन्त्रालय जस्तो। अचेल ‘प्रोपागन्डा’ शब्द सुन्दै नकारात्मक लाग्छ किनभने हिटलरको प्रोपागण्डा मन्त्रालयले भ्रमपूर्ण सूचनाहरुको बाढी नै लगाएपछि त्यो शब्दलाई नै सार्वजनिक बोलिचालीबाट बहिष्कार गर्नुपर्ने स्थिति आयो। नेपालमा प्रजातन्त्रलाई ‘लोकतन्त्र’ र राजमार्गलाई ‘लोकमार्ग’ भन्न थाले जस्तो। प्रेस स्वतन्त्रताको कसीमा गोकुलप्रसाद यति बद्नाम पात्र भइसके कि भोलि ‘सञ्चार मन्त्रालय’को नामै परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ।

उपसंहार 
गोकुलप्रसाद सञ्चारमन्त्री होइन्जेल यिनका कार्यक्रम बहिष्कार गरेर वा विधेयक सच्याउन लगाएर मात्रै पत्रकारले सुविस्ता पाउनेवाला छैनन्। यी अरु अनेकन स्वरुपमा पत्रकारको घाँटी अँठ्याउन निरन्तर लागिरहन्छन्। यिनको रुखो बोली, मूढेतर्क र जिद्दी स्वभावले नेपालको प्रेस स्वतन्त्रता, ओली सरकारको समृद्ध नेपाल अभियान र नेपालमा कम्युनिस्टहरुको छविलाई रसातलमा पुर्‍याउँछ। यिनलाई सञ्चार मन्त्रालयको जिम्मेवारीबाट यथाशीघ्र हटाउनु नै अहिलेको एक मात्र विकल्प हो।

 

Leave a comment