पत्रकार महासंघलाई शुभकामना र टिप्पणी

१. नेपाल पत्रकार महासंघ आज (अर्थात् २०७३ चैत १६ गते) ६२औं वार्षिकोत्सव मनाउँदैछ । प्रजातन्त्र, पञ्चायत, लोकतन्त्र, गणतन्त्र सबै राजनीतिक आरोह–अवरोहको साक्षी बनेको यो महासंघ लोकतन्त्रको पक्षमा सर्वदा डटिरहने एउटा महत्वपूर्ण संस्था हो । यस अवसरमा नेपालभित्र र बाहिर समेत पत्रकारिता वा पत्रकार महासंघका विभिन्न अध्यायहरुसमा संलग्न रहनु हुने समस्त पेसाकर्मीहरुलाई हार्दिक शुभकामना ।

FNJ-logo२. वि.सं. २०६२/०६३ यता यो महासंघ पेसागत हितभन्दा राजनीतिक हित चिताउने थलोको रुपमा रूपान्तरण हुन लागेको आभास हुन्छ । पेसागत मापदण्डहरुलाई शिरोपर गर्नेहरु संस्थाबाट टाढा हुने र राजनीतिक उद्देश्य भएकाहरु संस्थाप्रति आकर्षित हुने पछिल्लो प्रवृत्ति महासंघकै अस्तित्व र भविष्यका लागि समेत जोखिमपूर्ण हुनेछ । हालै सम्पन्न भएका र हुन बाँकी जिल्ला अघिवेसनहरुको क्रममा तालाबन्दी, आन्दोलन, राजनीतिक वैमनस्य, सदस्यताका लागि कार्यकर्ता भर्ती लगायतका जे–जस्ता गतिविधिहरु भए, ती यो संस्थाको ६२ वर्षे इतिहासमा निकै खेदजनक छन् । लोकमानसिंह कार्कीको रवाफमा ‘हिमाल साउथ एसिया’लाई सरकारी संयन्त्रको दुरुपयोग गरी बन्द हुने अवस्थामा पुर्याउँदा महासंघका तर्फबाट चुइक्कै बोल्न नसक्नु अर्को खेदजनक पक्ष हो । अचेल राजनीतिक प्रेस क्लबहरुबीचको खिचातानी र भागबन्डा मिलाउँदा मिलाउँदै महासंघको ऊर्जा, समय र नेतृत्वशीलता कमजोर हुँदै गएको छ । यस विषयमा महासंघ अझ सजग हुन सकोस् ।

३. नेपालको संविधान–२०६२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रावधानहरुलाई अघिल्ला संविधानहरुको तुलनामा संकुचित पारिएको अवस्थामा पनि राजनीतिक लाभ–हानीको चक्रमा खुलेर बोल्न नसक्दा महासंघले आफ्नो नेतृत्वदायी भूमिकालाई कमजोर तुल्याएको छ । अरु त अरु, धारा १९ मा रहेको प्रकाशन/प्रसारणसम्बन्धी हकलाई “सञ्चारको अधिकार” लेख्दा महासंघले फरक मत राखेको थाहा भएन । हालै जारी भएको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ अझै बढी नियन्त्रणमुखी भएको छ । कुनै पत्रकारिता वा सञ्चारसम्बन्धी नीति जारी भएपछि विरोध गर्नु एउटा पक्ष हो, तर, त्यो निर्माणकै क्रममा प्रभावकारी भूमिका खैल्दै प्रेस स्वतन्त्रताको दायरालाई उल्लंघन गर्ने नीतिहरु रोक्न सक्नु पर्दछ । यसमा महासंघको भूमिका अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ भनी समीक्षा गर्नु पर्दछ र आवश्यक रणनीतिहरु तयार पार्नु पर्दछ ।

४. नेपाल पत्रकार महासंघ श्रमजीवीहरुको संस्था हो कि सञ्चारउद्यमीहरुको संस्था हो ? यसले कसको हितलाई प्रवद्र्धन गर्दछ ? भन्ने विषय झन् अस्पष्ट, दोधारे र अन्यौलपूर्ण हुँदै गएको छ । भाषण गर्दा श्रमजीवी पत्रकारको पक्षमा भन्न नछाड्ने तर मालिकहरुको हितभन्दा बाहिर जान नसक्ने परिपाटीले गर्दा श्रमजीवी पत्रकार ऐन जारी भएको दुई दशक पुगिसक्दा समेत यसलाई लागु गर्न सकिएको छैन । सञ्चार उद्यमीहरु यो ऐन लागु गर्नु कता हो कता सरकारले पत्रकारलाई तलब देओस् भन्न थालिसकेका छन् । यस्तो अवस्थामा महासंघ केवल रमिते मात्रै बन्नु हुँदैन । न्यूनतम तलब दिन नसक्ने र श्रमजीवी पत्रकार ऐनलाई अक्षरस कार्यान्वयन गर्न नसक्ने सञ्चार संस्थाप्रति महासंघको धारणा र अबको रणनीति के हो ? त्यो स्पष्ट पार्नु जरुरी छ ।

५. नेपाली पत्रकारहरुको आचार संहिता पत्रकार महासंघको अगुवाइमा बन्नु पर्दछ । यो प्रेस काउन्सिलले बनाइदिने होइन । प्रेस काउन्सिलले आवश्यक समन्वय गर्न सक्छ तर प्रेस काउन्सिललाई आफ्नो अहम् भूमिका महासंघले सुम्पनु हुँदैन । नेपाल पत्रकार महासंघलाई समेत किनाराको साक्षी राखेर प्रेस काउन्सिलले पत्रकारलाई लाइसेन्स लगाउने जुन तयारी गर्यो, त्यो अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा छ र अन्त्यन्त दुर्भाग्यपूर्ण छ । महासंघले त्यस्तो गम्भीर विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग व्यापक छलफल गरेर राष्ट्रिय धारणा र रणनीति बनाउनु पर्दछ । खल्तीमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)का “प्रेस कार्ड” मात्रै बोकेर भएन, प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने सरकारी रबैयालाई चिर्न महासंघले आइएफजेसँग आवश्यक सहकार्य गर्नुपर्दछ ।

६. प्रेस काउन्सिल नेपाललाई पूर्ण स्वायत्त निकाय बनाउन पत्रकार महासंघले नेतृत्वदायी भूमिका खेल्न सक्छ र खेल्नु पर्दछ । पञ्चायती कालमा जस्तै सरकारको आलोचना निस्तेज पार्ने औजारको रुपमा मात्रै प्रेस काउन्सिललाई प्रयोग गर्न दिइनु हुँदैन । संघीय संरचनामा जाँदा विभिन्न प्रदेशमा प्रेस काउन्सिलका शाखाहरु खोलेर मात्रै प्रेस काउन्सिलको संघीय संरचना पूरा हुँदैन, राजनीतिक हस्तक्षेपबाट मुक्त प्रेस काउन्सिलको परिकल्पना पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आर्थिक र नीतिगत हिसाबले प्रेस काउन्सिल स्वायत्त हुन सकेमा मात्रै पत्रकारिताको व्यावसायिक विकासमा टेवा पुग्छ । कानुनतः स्वायत्त निकाय भएपछि प्रेस काउन्सिललाई आर्थिक रुपले टेवा पुर्याउन महासंघ सदस्यहरु र सञ्चार संस्थाहरुले योगदान गरेर आर्थिक कोष तयार पार्ने बारेमा पनि महासंघले रणनीतिहरु तयार पार्न सक्छ ।

७. सबै पत्रकारहरुलाई आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धतापत्रको सपथ खुवाइ हस्ताक्षर गराइ महासंघको केन्द्रीय कार्यालयमा अभिलेख राख्ने काम सुरु गरियोस् । पत्रकार आचारसंहिताको तीन पटक वा सोभन्दा बढी प्रष्ट उल्लंघन गर्ने पत्रकारहरुलाई महासंघको सदस्यता दिन बन्द गरियोस ताकि उनीहरुले पत्रकार आचारसंहिताको महत्वबारे थाहा पाउन् । महासंघको सदस्यता नभएका तर पत्रकारिता गरिरहेका व्यक्तिको अधिकारका लागि महासंघले उत्तिकै चासो देओस् र सक्रियता देखाओस् । राजनीतिक दलमा प्रत्यक्ष संलग्न व्यक्तिहरुको सदस्यता निलम्बन गरोस् । महासंघले पूर्णकालीन र पत्रकारितामा सक्रियहरुलाई मात्रै मताधिकारसहितको पूर्ण सदस्यता देओस् । बाँकीका लागि ‘विद्यार्थी’ ‘पत्रकार’, ‘सञ्चार उद्यमी’, ‘आंशिक पत्रकार’ र ‘मानार्थ सदस्यता’ जस्ता पदहरु सिर्जना गरी उनीहरुलाई मतदानको अधिकार नदेओस् । यसले गर्दा महासंघमा भइरहेको राजनीतिक खिचातानी कम हुन्छ र महासंघले पेसागत गुणस्तरमा ध्यान दिन सक्छ ।

८. पत्रकार महासंघको अधिकांश शाखाले ठूलो श्रम, लगानी र समय भवन निर्माणमा खर्च गरेका छन् । झापा जिल्लामा त एउटा भवन निर्माण भइसक्दा नसक्दा फेरि अर्को भवन बनाइएको छ । केही राजनीतिक प्रेस क्लबहरु पनि आफ्नो छुट्टै भवन निर्माणमा लागेका छन् । यसले पत्रकारको क्षमता विकासमा भन्दा भवन निर्माणमा बढी लगानी, ऊर्जा र समय गइरहेको छ । विभिन्न गैरसरकारी संस्थाहरुले दिएको तालिमले महासंघका आफ्नै उद्देश्यहरु पूर्ति हुँदैनन् । महासंघले यस सम्बन्धमा गम्भीर छलफल गरी नयाँ रणनीतिहरु तयार पार्नु पर्दछ ।

अहिले डा. महेन्द्र विष्टको नेतृत्वले जे–जति गर्न सक्यो, त्यसका लागि हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा अझ स्पष्ट दृष्टिकोण सहितको नेतृत्वले महासंघलाई अझ गतिशील, नेतृत्वदायी र जीवन्त बनाओस् । शुभकामना ।

Originally published on this blog. 

अनलाइन सञ्चारमाध्यम निर्देशिका–२०७३

अनलाइन संञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३

२०७३ चैत ७ गते राजपत्रमा अनलाइन सञ्चारमाध्यम निर्देशिका–२०७३ प्रकाशित भइसकेछ । पहिले छलफलमा आएको भन्दा कतिपय प्रावधानहरु संशोधन भएका छन् तर पनि यसले अप्ठेरो पार्न सक्ने कतिपय दफाहरु कायमै छन् । अनलाइन सञ्चालकहरुले तत्कालै आवश्यक छलफल गर्नु पर्ने देखिन्छ ।

को हो पत्रकार ?

‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाद्दाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’

नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा हो माथिको पंक्ति । हुनत आचारसंहिताले शब्दको व्याख्या वा परिभाषा गर्दैन, कानुनले गर्छ । तर नेपाल त्यस्तो अपवाद मुलुक हो, जहाँ कानुनबेत्ताहरूले २०५५ सालयता कानुनकै ढाँचाकाँचामा पत्रकारको आचारसंहिता बनाइदिने गरेका छन् । त्यसैले वर्तमान पत्रकार आचारसंहितामा ‘पत्रकार’ शब्दको परिभाषा हुनु अस्वभाविक भएन । तर, कानुन व्यावसायीहरूकै आचारसंहिता–२०५१ मा चाहीँ ‘कानुन व्यावसायीहरू’ भनेका को हुन् भनेर परिभाषा गरिएको छैन । संसारमा विभिन्न देश र संघसंस्थाहरूले निर्माण गरेका एक हजारभन्दा बढी पत्रकार आचारसंहिताहरू छन् । तिनमा पत्रकार को हो, को होइन भनेर परिभाषा गरिएको छैन ।

उल्लेखित परिभाषामा दिइएका शब्दहरूलाई गहिरिएर विचार गरौैँ । परिभाषाले ‘स्तम्भ लेखक’ र ‘विश्लेषक’लाई पनि पत्रकार बनाएको छ । कुनै किसानले गोबारो किराबाट केराका बोट कसरी जोगाउने, धान कसरी धेरै फलाउने, बेमौसमी गोलभेडा कसरी उत्पादन गर्ने जस्ता शीर्षकमा वर्षमा तीन–चारओटा लेख पत्रपत्रिकामा प्रकाशन गर्न सफल भयो भने उसलाई यस परिभाषाले पत्रकार बनाइदिन्छ । पत्रपत्रिकामा नियमित लेखन गर्ने संविधानविद् भीमार्जुन आचार्य, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला आदिलाई पनि पत्रकार भन्न सकिने भो । अझ प्रेस–क्यामरापर्सन, व्यंग्यचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता तथा सञ्चालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादकलाई समेत यस परिभाषाले पत्रकार बनाएको छ । क्यामरापर्सन प्राविधिक व्यक्ति हो । पत्रकारिताको ज्ञान नभएको अवस्थामा ऊ पत्रकार हुन सक्दैन । रेडियो टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रम चलाउने, राशीफल लेख्ने, धार्मिक कार्यक्रम चलाउने, वास्तुशास्त्र भन्ने, कवितावाचन गर्ने, कम्प्युटरमा डिजाइन गर्ने, तयार पारिदिएको समाचार पढ्ने व्यक्ति आदिलाई सञ्चार संस्थाले जागिर दिएकै आधारमा पत्रकार भन्नुपर्ने अवस्था यस परिभाषाले सिर्जना गरेको छ । हाम्रो परिभाषाका आधारमा भारतमा ‘कौन बनेगा करोडपति’ चलाउने अमिताभ बच्चन र ‘बिग बोस’ चलाउने सलमान खानलाई पत्रकार भन्न सकिन्छ ।

उसो भए पत्रकार को हो त ? पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्वत मूल्यमान्यतालाई औपचारिक वा अनौपचारिक रूपमा पढेको वा बुझेको छ र त्यस्ता मान्यताहरूलाई पत्रकारिताका विभिन्न चरणहरूमा अवलम्बन गर्दछ । उदाहरणका लागि सूचनाको सत्यता, वस्तुपरकता, विश्वसनियता, कार्यगत स्वतन्त्रता, जनहित, तटस्थता, स्वच्छता, जवाफदेहिता आदिलाई बीबीसी एकेडेमीले पत्रकारिताका आधारभूत मान्यताहरू भनेको छ । यस्ता मान्यताहरूलाई आत्मसात गर्दै सर्वसाधारणको हितका लागि कुनै व्यक्ति पत्रकारिताको अभ्यास गर्दछ एवम् पत्रकारिता गर्ने सिलसिलामा पत्रकार आचारसंहिता पालन गर्दछ, त्यो पत्रकार हो । पत्रपत्रिकामा नियमित लेख्ने, रेडियो वा टेलिभिजनमा नियमित कार्यक्रम चलाउने तर पत्रकारिताका मूल्यमान्यतालाई बरखिलाप गर्ने व्यक्ति पत्रकार होइन । 

जसरी बिरामीको उपचार गरी हिड्ने तर चिकित्साशास्त्र नपढेको व्यक्तिलाई चिकित्सक भन्न सकिँदैन, जसरी शिक्षाशास्त्र पढेको तर कक्षाकोठामा शिक्षण नगरेको व्यक्तिलाई शिक्षक भन्न सकिँदैन, जसरी औषधि बेच्ने तर फार्मेसी नपढेको व्यक्तिलाई फर्मासिस्ट भन्न सकिँदैन, त्यसैगरी पत्रकारिताको सैद्धान्तिक ज्ञान (आधारभूत मूल्यमान्यता र पेसागत आचारसंहिता) हासिल नगरीकन गरिएको लेखापढीलाई पत्रकारिता भन्न सकिँदैन । पत्रकारिताका मान्य सिद्धान्तहरूलाई नबुझी एवम् आचारसंहिताको पालन नगरी कसैले नियमित लेख्ने गरेको छ भने त्यो उसको लेखनवृत्ति हो, पत्रकारिता होइन । अर्कातिर, पत्रकारिताको सैद्धान्तिक ज्ञान भएका तर पत्रकारिताको साच्चिकै अभ्यास नगर्ने व्यक्ति (जस्तैः पत्रकारिताका शिक्षक वा विद्यार्थी) लाई पनि अभ्यास नगरुन्जेलसम्म पत्रकार मान्न सकिन्न । अमेरिकी पत्रकारद्वय बिल कोभाच र टोम रोसेन्स्टिअलले आफ्नो पुस्तक ‘इलिमेन्टस् अफ जर्नलिजम’मा भनेका छन्– इन्टरनेटको उपस्थितिले गर्दा एक्काइसौँ शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा (सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी) पत्रकारिता गरेको हुनुपर्दछ ।

उसोभए यस्तो गोलमटोल परिभाषा किन ? यस्तो गोलमटोल परिभाषा राख्न जोड गर्नेहरूमा मिडियाका साहुजीहरू र ‘पत्रकार’ भइटोपलेर बेलामौकामा सामाजिक पद, प्रतिष्ठा, सम्मान र विभिन्न स्वार्थपूर्ति गर्न उद्यत् आकांक्षीहरू छन् । नेपालमा धेरैजसो मिडियाका लगानीकर्ताहरू पनि पत्रकार भनेर चिनिन चाहन्छन् । लगानी गरेको आधारमा आफूलाई प्रधानसम्पादक वा प्रबन्ध सम्पादक भनाउने धेरै छन् । तर, जसरी जग्गाजमिनको स्वामित्व भएका तर आफैँ खेती नगर्ने जग्गाधनीहरू किसान होइनन्, पत्रकारिताको मेलोमेसो नपाएका, मिडियाका लगानीकर्ता वा प्रकाशकहरू त्यस्तै हुन्, जो सञ्चार संस्था चलाउँछन् तर आफैँ पत्रकारिताका कार्यमा संलग्न हुँदैनन् । आफूलाई पत्रकार भनेर चिनाउने तर पत्रकारिताका मूल्यमान्यताहरूबारे केही थाहा नभएका मानिसहरूले नेपाली पत्रकारिताको साख घटाइरहेका छन् ।

माथिको परिभाषाअनुसार पत्रकारिता नबुझे पनि, समाचारको मेलोमेसो थाहा नपाए पनि पत्रकार हुन सकिन्छ । किनभने सञ्चारमाध्यममा खास पदमा नियुक्त हुनु नै उसको पत्रकार हुने योग्यता हो । तर कुनै व्यक्तिले पत्रकारिताका सैद्धान्तिक मान्यताहरूलाई नबुझुञ्जेल र त्यसअनुसार व्यावहारिक अभ्यास नगरुञ्जेलसम्म (उसको नाउँ कुनै अखबारको प्रिन्टलाइनमा प्रकाशित भएता पनि) उसलाई पत्रकार भन्न सकिँदैन । पत्रकारितासम्बन्धी कुनै एउटा काम गर्दैमा जोकोही पत्रकार भइहाल्ने होइन, त्यो काम उसले व्यावसायिक मापदण्डलाई बुझेर र अपनाएर गरेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । पद प्राप्त गरेकै आधारमा हुने पत्रकारलाई खासमा ‘पदेन पत्रकार’ भने हुन्छ । नेपाल पत्रकार महासंघमा पदेन पत्रकारहरूले साँच्चिकै श्रमजीवी पत्रकारहरूलाई विस्थापन गर्न सक्ने जोखिम बढेको छ ।

Published on Annapurna Today weekly on Chaitra 4, 2073 BS

पत्रकार आचारसंहिताबारे अन्तर्वार्ता

पत्रकार आचारसंहिता भनेको के हो ? यो किन आवश्यक छ ? नेपालको पत्रकार आचारसंहिता कस्तो छ ? यसका सबल र दुर्बल पक्षहरु के–के हुन् ? आचारसंहितामा तत्कालै सुधार गर्नु पर्ने पक्ष के छन् ? पत्रकारले राजनीतिमा संलग्न हुन मिल्छ कि मिल्दैन ? अन्तर्राष्ट्रिय अनुभव के छ ? नेपालको पत्रकारितालाई अझ व्यावसायिक बनाउँदै कसरी अघि बढाउन सकिन्छ भन्ने सवालहरुमा केन्द्रित भई सञ्चारविज्ञ भानुभक्त आचार्यसँग सूर्योदय टेलिभिजनका प्रस्तोता टिकाराम नेतीले गर्नुभएको कुराकानी ।

आदिकविको छायामुनि अस्तित्वको खोजी

२०७३ असार २९ गते राजधानी दैनिकमा प्रकाशित 

Screenshot 2017-02-11 20.04.35.pngआज असार २९ गते । नेपाली साहित्यका आदिकविको जन्मदिन । मिल्दो नाउँ भएकाले मलाई समेत
जन्मदिनको शुभकामना दिने शुभेच्छुकहरू हुनुहुन्छ । नेपाली साहित्यका अमर नक्षत्रप्रति
हार्दिक शब्दश्रद्धा अर्पण गर्दै यो लेख सुरु गर्छु ।

भानुभक्त आचार्य मेरो न्वारानको नाउँ हो, मैले आफूखुसी राखेको होइन । मेरो नाउँसँग अरू कसैको नाम मिल्दो रहेछ भन्ने मैले तीन कक्षामा पढ्दा पत्तो पाएँ । गाउँकै एकजना दाईले पढ्ने नेपाली किताबको एउटा फोटो देखाए । उतिबेला लेटर प्रेसमा छापिएको श्यामश्वेत त्यो फोटो आदिकवि भानुभक्त आचार्यको थियो । त्यो फोटोमा मेरो खासै ध्यान गएन तर त्यस मुन्तिर आफ्नै नाउँ लेखिएकाले भने म चकित परें ।

कक्षा चारमा उक्लिनासाथ मैले आदिकवि भानुभक्तका बारेमा लेखिएको त्यो पाठ निकै चाख मानेर पढें । दोहो¥याएँ, तेहे¥याएँ । कविता लेखेरै सारा देशले चिन्ने ठूलो मान्छे बनेका ती व्यक्तित्वबाट म यति प्रभावित भएँ कि म जानिनजानी कविता लेख्न थालें । कक्षा ६ मा पुग्दा म विद्यालयले आयोजना गर्ने कविता प्रतियोगितामा भाग लिन थालिसकेको थिएँ । हाईस्कुल छाड्ने बेलासम्ममा म गाउँछिमेकमा र साथीभाइबीच एउटा ठिनेमिने कवि भइसकेको थिएँ । झापा जिल्लाको डोरामारी स्कुलमा कक्षा ६ मा पढ्दा नेपाली शिक्षकले कविता लेख्ने गृहकार्य दिए । त्यस कविताले मलाई विद्यालयमा कविको परिचय दियो ।

आफ्नै परिचयका बारेमा लेखिएको उक्त कविताका केही हरफ यस्ता थिए :

नाम मेरो भानुभक्त आचार्य हो थर,
नेपालको झापा जिल्ला डोरामारी घर ।।

डोरामारी निमाविमा कक्षा छमा पढ्छु,
पढी ज्ञानी ठूलो भई भोलि अघि बढ्छु ।।

प्रसिद्ध व्यक्तिहरूसँग नाउँ मिल्दाका केही फाइदा छन् । पहिलो, जो कोहीले तपार्इँको नाउँ तत्कालै सम्झिहाल्छ । कुनै सानो ठूलो सभा–समारोहमा जाँदा आफ्नो नाउँ भन्नेबित्तिकै मान्छेका कान ठाडा हुन्छन् । सबैको आकर्षणको केन्द्र भइन्छ । कुनै ठाउँमा पढाउन, तालिम दिन वा अन्य कुनै समारोहमा जाँदा तुरुन्तै चिनिन चलेका नाउँले फाइदा पु¥याएको कुरा व्यक्त गर्न म संकोच मान्दिनँ । दोस्रो कुरा, राम्रो मान्छेसँग नाउँ मिल्दा आफूलाई अलिकति भए पनि सकारात्मक हुन दबाब पर्छ । त्यस्तो दबाब आफूले अनुभव गर्न सक्नुपर्छ । नामको शाब्दिक अर्थ र त्यस शब्दसँग जोडिएको कुनै ऐतिहासिक वा सांस्कृतिक पृष्ठभूमि पनि थाहा पाउन सकियो भने त अझ सुनमा सुगन्ध नै भयो । तेस्रो कुरा, अचेल तपाईँका बारेमा कसैले जान्न चाह्यो भने गुगलमा नाउँ टाइप गर्छ र तपाईँका बारेमा थप सूचनाहरू खोज्छ । त्यहाँ उपलब्ध हुने सूचनाका आधारमा तपार्इँका बारेमा कसैले धारणा बानाउने हो । यो लेख लेख्ने क्रममा गुगलमा भानुभक्त आचार्य नाउँ हालेर खोज्दा अंग्रेजीमा ९८ हजार २ सय र नेपालीमा ४२ हजार ९०० फाइल फेला परे । मेरो बारेमा कसैले गुगलबाट जान्न खोज्यो भने आदिकविको बखान देखेर त्यो जिल्ल पर्छ ।

ठूला मानिससँग नाउँ मिल्दाका व्यथाहरू पनि उत्तिकै छन् । यहाँ म केही प्रसंगहरू राख्न चाहन्छु ।

प्रसंग एक, मेरो शब्द र सत्यकला राईको स्वरमा ०५८ सालतिर रेकर्ड भएको ‘भँवरालाई त के छ र उडिदिए पुग्छ’ गीतलाई आदिकवि भानुभक्तकै रचना होला भनेर कसैले भानु सेवा समिति, रानीपोखरीमा लगेर दर्ता गरेछ । अनि आदिकविले यो गीत कुन सन्दर्भमा रचना गरेका रहेछन् भनी त्यहाँका केहि पदाधिकारी धुइँधुइँ खोज्दै रहेछन् । एक दिन त्यस समितिका एकजनाले मसँग परिचय गरिसकेपछि त्यो रहस्य खोले । मैले त्यो गीत मैले रचना गरेको हो, नपत्याए सत्यकलालाई सोध्नु भनी उनको रहस्य फुकाइदिएँ । त्यसपछि त्यो गीत आदिकविको श्रेयबाट हटाइयो रे † ज्यूँदै गीतकारलाई झन्डै मारिसकेछन् ।

प्रसंग दुई, मैले पत्रकारिता र आमसञ्चारसम्बन्धी केही पुस्तक पनि लेखेको छु । नेपालीमा लेखिएका पुस्तकमा भानुभक्त आचार्य र अंग्रेजीमा लेखिएका पुस्तकमा बीबी आचार्य लेखिएको छ । बीबी आचार्य लेख्नुका पछाडि अर्कै कहानी छ । यहाँ प्रासंगिक नहोला । मैले सुनेअनुसार रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा एकजना प्रशिक्षकले स्नातक तहका विद्यार्थीहरूलाई पत्रकारिताका बारेमा प्रश्नोत्तर गर्दै थिए । यसै क्रममा एकजना छात्राले ‘आदिकवि भानुभक्तले लेखेको आमसञ्चार र पत्रकारिता पुस्तकमा … यस्तो लेखेको छ त सर’ भनेर फरक मत राख्न खोजिन् । सर पनि के कम, ‘आदिकविका पालामा यो देशमा पत्रकारिता सुरु भएको थियो ?’ भनी कड्किएछन् । उनी नीलो–कालो भएर थचक्क बसिछन् । यो प्रसंग मलाई चिन्ने त्यहाँकै समकक्षी एक विद्यार्थीले सुनाएका हुन् ।

प्रसंग तीन, ०६० सालको एक दिन विराटनगर गएका बेला एभरेस्ट बैंकको मेरो एटिएम कार्डले काम गरेन । कतै खातामा पैसा सकियो कि भनेर चेक गर्नलाई मेरो खाता भएको एभरेस्ट बैंकको पुल्चोक (ललितपुर) शाखामा मोबाइलबाटै फोन गरें । त्यसबेला मोबाइलको कल गरेको र उठाएको पनि चर्को पैसा लाग्थ्यो । उताबाट एकजना महिला कर्मचारी बोलिन, ‘तपाईंको नाम के हो ?’ मैले जवाफ दिएँ, ‘भानुभक्त आचार्य ।’ ती महिला खित्का छाडेर हाँसिन्, उनको छेउमा भएका साथीहरूलाई समेत भानुभक्त आचार्य भन्ने मान्छे बोल्दै छ, मलाई त डरै लाग्यो भनेर सुनाइन् । उनीहरू पनि हाँसे । यता, मोबाइलमा कति पैसा सकियो होला भनेर मेरो मुटु ढुकढुक भइरहेको थियो । तैपनि मन थामेर कुरें खातामा भएको रकम थाहा पाउनलाई । अनि युवती बोलिन्, ‘तपाईं अहिले स्वर्गमा हो, तपाईंका पालामा हाम्रो बैंक थियो र ?’ मसँग जवाफ दिएन, केवल रिसको ज्वाला मात्रै थियो । प्रतिवाद गर्दा झन् बढी पैसा सकिएला भनेर फोन काटें । मलाई कसैको नाउँमा चिनिनुको पीडाको उत्कर्ष त्यस दिन थाहा भो ।

प्रसंग चार, ०६५ सालमा नेपाल पत्रकार महासंघले कर्णाली महोत्सव आयोजना ग¥यो । जुम्लामा आयोजना गरिएको त्यस कार्यक्रममा मूल प्रशिक्षक भएर म गएको थिएँ । तेस्रो दिनको तालिम कार्यक्रम सकिए पनि एकजना सहभागी एलपी देवकोटा (हाल कान्तिपुर संवाददाता) ले मलाई जुम्ला बजारका विभिन्न स्थानमा घुमाउन लिएर गए । बाटोमा हिँड्दै गर्दा उनले सोधे, ‘तपाईँको नाम ठ्याक्कै भानुभक्त आचार्य हो र सर ? न्वारानको नाउँ अर्कै होला नि ?’ मैले भने, ‘मेरो योबाहेक अरू कुनै नाउँ छैन, म के गरूँ ?’ उनले थपे, ‘अनि नाउँ सुनेर मान्छे हाँस्दैनन् ?’ फेरि मैले भने, ‘हाँसे हास्दै गर्छन् नि †’ उनले भने, ‘मेरो नाउँ पनि खासमा लक्ष्मीप्रसाद देवकोटा हो, तर मान्छेले जिस्क्याएर हैरान पारे अनि एलपी देवकोटा राखेको हुँ । अहिले धेरै राहत भएको छ ।’ उनी अलि गम्भीर देखिए । मैले ठट्यौली पारामा भने, ‘ल हेर, मरेका कविहरू ज्यूँदै भेट भएछौं । अर्को समाचार बन्ने भो ।’

प्रसंग पाँच, म मात्रै होइन, अन्नपूर्ण पोस्टका हेटौँडा संवाददाताको नाउँ पनि भानुभक्त आचार्य हो । उनीसँग मेरो औपचारिक चिनजान थिएन । उनको बाइलाइनमा मकवानपुरका समाचारहरू पढ्ने गरेको थिएँ । त्यसबेला अन्नपूर्ण पोस्टमा मानवअधिकार र पत्रकारिताका विविध पक्षबारे मेरा लेखहरू बरोबर प्रकाशित हुन्थे । उनी हेटौँडामा बसेर बधाइ थाप्दा रहेछन् । सन् २०१० को मानवअधिकार दिवसका दिन प्रकाशित मेरो लेखमा उनलाई बधाइ दिनेहरू झन्डै दुई दर्जन थिए रे † तपाईंले किन बधाई थापिरहनुभयो त ? भन्ने मेरो जिज्ञासामा उनले बडो व्यावहारिक जवाफ दिए– ‘हरेकलाई त्यो व्यक्ति म होइन भनी स्पष्टीकरण दिन भ्याइएन । अनि लेख्ने व्यक्तिलाई आफैंले समेत नचिनेकाले फलानो व्यक्ति भनी बुझाउन सकिन ।’ पछि लेखसँगै फोटो पनि छापिन थालेपछि भने उनलाई बधाई दिनेहरू घटेछन् । यता काठमाडौंमा म हरेक वर्षजसो पुस्तक प्रकाशन वा परिमार्जन गरिरहन्थें । उता हेटौंडामा उनीसँग पुस्तक माग्नेहरूको भीड लाग्ने रहेछ अनि उनले त्यो व्यक्ति म होइन नभनी सुखै पाएनन् ।

कहिलेकाहीँ व्यावहारिक तनाब वा झमेलाबाट दिक्क हुँदा मनमा अनेकथरी कुराहरू खेल्छन् । जेसुकै होस्, यो दैनिक लफडामा पर्नुभन्दा आदिकविको पुनर्जन्म भएको हो, म त्यही मान्छे हुँ भन्दै हिँडूँ कि जस्तो पनि लाग्थ्यो कुनै समय । भानुभक्तको जीवनी कण्ठ पार्ने, दुई चारओटा कविता घोक्ने अनि किताबमा नभएका कुरा आफैं फूल पार्ने । भन्दिए भैगो । पत्याउने मान्छेको हुल भइहाल्छ । आदिकवि भानुभक्तका बुवा धनञ्जय आचार्य, हजुरबुवा श्रीकृष्ण आचार्य । मेरा बुवा कृष्णप्रसाद आचार्य र तीन हजुरबुवामध्ये कान्छाको नाउँ धनञ्जय आचार्य । मिलेन त कुरा । तर, मभित्रको अस्तित्ववादी धारले त्यस्ता हचुवा कुरामा बहकिन वा विचलित हुन दिएन, दिँदैन र नदेओस् पनि । जब मैले एमए (अंग्रेजी) मा अस्तित्ववादका बारेमा पढें, मलाई आफ्नै मौलिक नाउँ नभएकामा ग्लानी भयो । मैले आफ्नो नाउँभन्दा मान्छेहरूले अरु कसैलाई सम्झिदिन्छन् । मेरो विचार व्यक्त गर्दा इतिहासको कुनै व्यक्तिको विचार होला भनी बुझिदिन्छन् । मैले लेखेका गीत, कविता आदि समेत आदिकविका हुने भए । अरू त अरू, मेरो नाउँ सुन्नेबित्तिकै मरेको मान्छे भन्दै हाँस्न थाल्छन् । म आफ्नो अस्तित्वका लागि लेखिरहेको छु । म पुरानै नाउँमा नयाँ अस्तित्व खोज्न चाहन्छु । आदिकविको नाउँ सापटी लिएबापत लोकहित गर्न मेरो सत्प्रयास जारी छ ।

सम्पादक खोपीको देउता मात्रै हो ?

माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला हप्ताभरि चल्यो । पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो भए पनि प्रकाशकहरुले लाखौं आम्दानी गरे । करोडौं रुपैया खर्चिएर गरिएको यस विज्ञापन शृंखलाले स्वदेशी साबुन उद्योगहरुलाई तहसनहस पार्दै बहुराष्ट्रिय कम्पनीका साबुनको बजार प्रवद्र्धन गरेको छ । यस आलेखमा विज्ञापन प्रकाशन गर्दा आमपाठकले सम्पादकसँग अपेक्षा गर्ने भूमिकाका बारेमा चर्चा गरिएको छ ।

16177830_10210515336032666_1144420873549434426_o

विज्ञापनको हल्लीखल्ली
बोसोयुक्त साबुनविरुद्धको उक्त विज्ञापनले नेपालका आमपाठकहरुमा मूलतः तीन कारणले हल्लीखल्ली मच्चायो । पहिलो, प्रायः साबुनमा बोसोको प्रयोग हुन्छ भन्ने कुरा धेरै उपभोक्तालाई थाहा छ । नेपालको कानुनले बोसो भएको साबुन उत्पादन गर्न र बेच्न अनुमति दिएको छ । साबुनमा जानकारीयुक्त लेबल हुनु राम्रो कुरा भए पनि लेबल नभएका साबुनहरु बेच्न कानुनले प्रतिबन्ध गरेको छैन । यसर्थ, उक्त विज्ञापन कानुनभन्दा एक कदम अघि बढेर आएको छ, अर्थात् विज्ञापनले नेपालको विद्यमान कानुनलाई चुनौति दिन्छ ।

दोस्रो कारण, यस्तो विवादास्पद सूचना राखेर विज्ञापन गर्ने व्यक्ति, संस्था वा निकाय के हो ? त्यसबारे विज्ञापनमा कुनै जानकारी छैन । ‘उपभोक्ताको हितमा जारी’ भन्दै अमुक व्यक्ति वा संस्थाले करोडौं रुपैँया शृंखलाबद्ध रुपमा खन्याएको छ । त्यो को हो, जसले आफू भूमिगत भएर उपभोक्तालाई उपदेश दिइरहेको छ ? जसले ‘लेबल चाहिन्छ लेबल’ भन्दै अरुलाई उपदेश गर्यो, उसको लेबल खोइ ? अरुबेला ‘सूचना तपाइँको अधिकार’ भन्दै विज्ञापन गर्ने अखबारहरु मौका पाउनासाथ पाठकहरुलाई गुमराहमा राखेर अमुक स्रोतबाट आएको पैसा पोको पार्न मिल्छ ? प्रेस र पाठकको सम्बन्ध व्यापारी र ग्राहकको जस्तो मात्रै हो ? पैसाको ठूलो थैली आएका दिन पाठकलाई सूचनाको अधिकार चाहिन्न ? सारा दुनियाँलाई पारदर्शी हुनुपर्छ भनेर सिकाउने अखबारहरुलाई यो विज्ञापन कहाँबाट आइरहेको छ ? कसले पैसा खन्याएको छ ? के उद्देश्य राखेर स्वदेशी साना साबुन उद्योगहरु विरुद्ध यो विज्ञापनको शृंखला चलिरहेको छ ? त्यसबारे जानकारी पाउने अधिकार आम पाठकहरुलाई छ कि छैन ? आज यी तमाम प्रश्नहरुको जवाफ आमपाठकलाई चाहिएको छ ।

तेस्रो कारण, शृंखलाबद्ध विज्ञापन मात्रै होइन, विज्ञापन दिने अमुक स्रोतले समाचार समेत लेखाएको छ – ‘नांगो साबुन छ्याप्छ्याप्ती सरकारी निकाय मौन’, ‘विदेशबाट अर्बौको बोसो’ इत्यादि । विज्ञापनलाई मलजल गर्ने किसिमका यी समाचारहरु ठूलो रकमको विज्ञापन पाएबापत ‘बोनस समाचार’ हो ? यस्ता प्रायोजित समाचार लेख्दा, लेख्न लगाउँदा वा अन्तैबाट तयार भएर आएको समाचार प्रकाशन हुनबाट रोक्न नसक्दा कस्तो किसिमको सम्पादक भइन्छ ? सम्पादकका नाउँमा खोपीको देउता मात्रै भइएन ? पैसा लिएर समाचार प्रकाशन गर्ने विषयमा भारत विश्वमै बद्नाम छ । हामीलाई पनि अब छिमेकीको रोगले ग्रस्त पारेको हो ? हाम्रो समाचारको रिमोट कता छ ? स्रोत नखुल्ने विज्ञापन किन छाप्नुभो भनेर कुनै सम्पादकलाई सोध्यो भने एउटा रेडिमेड जवाफ आउँछ – विज्ञापनमा हाम्रो हात हुँदैन । तर, तिनै सम्पादक कसैलाई परिचय दिँदा म फलानो अखबारको सम्पादक भनेर छाति फुलाउछन् । अर्थात् ऊ विज्ञापन भएको पृष्ठको पनि सम्पादक हो । विज्ञापनमा कुनै पनि किसिमको सम्पादकीय नियन्त्रण हुन नसक्ने हो भने आफूलाई समाचारको मात्रै सम्पादक भन्नुपर्छ । वस्तुनिष्ठ पत्रकारिता भन्नाले आफूले जति गरिन्छ त्यसको मात्रै जस लिनु पनि हो ।

सम्पादकको क्षेत्राधिकार
छ महिनाअघि काठमाडौंबाट प्रकाशित हुने ठूलै अखबारका सम्पादकसँग मेरो कुराकानी भएको थियो, सम्पादकीय स्वतन्त्रताबारे । बेलाबेला हुने राजनीतिक हस्तक्षेपको कुराबाहेक समाचार छनोट, प्रस्तुतिको शैली र लेखनमा आफू कत्तिको स्वतन्त्र हुनुहुन्छ ? भन्ने मेरो प्रश्नमा उहाँले भन्नुभो, ‘नेपालका गिनेचुनेको औसत सम्पादकहरुभन्दा बढी नै स्वतन्त्र छु ।’ के कुरामा चाहीँ तपाई आफ्नो अखबारमा स्वतन्त्र हुनुहुन्न भनेर मैले फेरि प्रश्न गरें । उहाँले आर्थिक समाचारसम्बन्धी पृष्ठमा जाने समाचारको निर्णय मार्केटिङ शाखाले हेरे पनि बाँकी आफैंले गर्ने जानकारी दिनुभयो । अझ काठमाडौंबाट प्रकाशित सबै ठूला अखबारमा यो परिपाटी भएको उहाँको दाबी छ । ती सम्पादकको कुरालाई आधार मान्ने हो भने विज्ञापन र आर्थिक समाचारमा नेपालका धेरैजसो सम्पादकहरुको नियन्त्रण छैन । अझ, बेलाबेलामा प्रकाशक वा खास सरोकार समूहको दबाबमा अखबारको मुखपृष्ठमै रसेन्द्र भट्टराई वा भक्तमान श्रेष्ठका समाचारहरु आएका उदाहरणहरु छन् । यसले सम्पादकहरु खोपीको देउता हुने सम्भावना बढाइरहेको छ ।

कतिपय पेसाहरु यस्ता हुन्छन्, जसमा नियमित काम गरेर जागिर खाएर मात्रै पुग्दैन । त्यसका सिद्धान्त र मान्यताहरुमा फरकमत हुने वित्तिकै कि अरुलाई समेत राजी गराएर अघि बढ्न सक्नुपर्छ । हैन भने आफूले कुर्सी छाड्नु पर्छ ताकि कलंकित नहोइयोस् । प्रकाशक वा विज्ञापनदाताहरु समाचारको विषयवस्तु छनोटमा हाबी हुने बित्तिकै सैद्धान्तिक रुपमा त्यहाँ सम्पादकको अवसान भइसक्छ ।

कतिपय पेसाहरु यस्ता हुन्छन्, जसमा नियमित काम गरेर जागिर खाएर मात्रै पुग्दैन । त्यसका सिद्धान्त र मान्यताहरुमा फरकमत हुने वित्तिकै कि अरुलाई समेत राजी गराएर अघि बढ्न सक्नुपर्छ । हैन भने आफूले कुर्सी छाड्नु पर्छ ताकि कलंकित नहोइयोस् । प्रकाशक वा विज्ञापनदाताहरु समाचारको विषयवस्तु छनोटमा हाबी हुने बित्तिकै सैद्धान्तिक रुपमा त्यहाँ सम्पादकको अवसान भइसक्छ । आफ्नो क्षमता देखाउन सकिन्न वा समाचार प्रशोधन प्रक्रिया आफ्नो नियन्त्रणबाट टाढा छ भने सम्पादकहरुले ल्याप्चे हान्ने कठपुतली मात्रै भइरहनु हुन्न । राजिनामा दिनुपर्छ । फलतः एउटा प्रकाशकले यस्तो विषय समाचार बनाउन मिल्छ कि मिल्दैन भनेर सम्पादकलाई सोधोस् । सम्पादकको निर्णयलाई मानोस् अथवा कम्तीमा सम्पादकको क्षेत्राधिकारलाई नकुल्चियोस् । सम्पादकहरुले आफ्नो क्षेत्रात्रिकारको रक्षाका लागि संघर्ष गर्न ढिला भइसकेको छ । त्यसका लागि आमपाठकहरुले पनि आवश्यक ऐक्यबद्धता र नैतिक समर्थन अवश्य गर्नेछन् । सम्पादकीय स्वतन्त्रताको रक्षा गर्न सकिएन भने हाम्रा सञ्चार संस्थाहरु अमुक व्यक्तिका कालोधन सेतो पार्ने साधन मात्रै बन्नेछन् ।

विज्ञापनको दायरा र नियमन
विज्ञापनका रुपमा आमसञ्चार माध्यमले के–कस्ता विषयमा र कुन हदसम्म प्रचारप्रसार गर्न पाउँछन् भन्ने विषयमा सन् १९४२ मा अमेरिकाको सर्वोच्च अदालतले एउटा फैसला गरेको थियो । उक्त फैसला अनुसार विज्ञापनको विषयवस्तु वा प्रचार सामग्रीले वैधानिक गतिविधिहरुलाई मात्रै प्रचार गर्न पाउँछ, त्यस्तो प्रचार बहुअर्थी वा भ्रामक हुन हुँदैन, त्यसको उद्देश्य आवश्यक र उचित हुनुपर्दछ । साथै, विज्ञापनमा प्रयोग गरिएको भाषा लक्षित उद्देश्य हासिल गर्नेभन्दा बढी व्यापक हुनु हुँदैन । अहिले पनि संसारभरि विज्ञापनको नियमनका लागि प्रयोग हुने आधारभूत सिद्धान्तहरु यिनै हुन् ।

नेपालको विद्यमान आमसञ्चार नीति, २०७३ को दफा २(१६) मा विज्ञापनको भाषाले ‘उपभोक्तामा भ्रम सिर्जना हुन नदिन विज्ञापनसम्बन्धी एकीकृत कानुन निर्माण गरी नियामक निकायद्वारा नियमन गर्ने व्यवस्था’ गर्ने उल्लेख छ । त्यसैगरी दफा ३(९) मा आमसञ्चारमाध्यमले कुनै निश्चित ब्रान्ड, उत्पादन वा सेवाको मात्र प्रचार वा एकाधिकार हुने किसिमका विज्ञापन प्रकाशन÷ प्रसारण गर्न नपाउने गरी कानुनी व्यवस्था गर्ने भनिएको छ । तर अझसम्म विज्ञापनलाई नियमन गर्ने कानुन र नियामक निकाय बनिसकेको छैन । प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चार संस्थालाई ध्यानाकर्षण गराउन खोज्छ तर त्यसको प्रभाव शून्यप्राय छ । बोसोयुक्त साबुन विरुद्धको शृंखलाबद्ध विज्ञापनबारे सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रेस काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमहरुतर्फ लक्षित गर्दै एउटा प्रेस विज्ञप्ति जारी गर्यो। वास्तवमा त्यो औपचारिकता मात्रै थियो, जसले केही माखो मारेन । विज्ञापनलाई प्रवद्र्धन गर्ने गरी समाचारहरु लेखिए पनि सम्पादकहरुले त्यसमा नियन्त्रण गर्न सकेनन् । वर्तमान् आचारसंहिताको दफा ४(७) र ५(८) को स्पष्ट उल्लंघन हुँदासमेत प्रेस काउन्सिलले कारबाही गर्ने ल्यागत देखाएन किनभने यस काण्डमा सबैजसो ठूला मिडिया संलग्न थिए ।

बेलाबेला पत्रकारहरु प्रेस स्वतन्त्रताको नारा लाउने तर प्रेसका सञ्चालक वा लगानीकर्ताहरु हर हालतमा पैसा कमाउने तिर मात्रै सोच्ने हो भने आमपाठकहरु अझै बढी ठगिन्छन् । अहिलेकै अवस्था कायम रहने हो भने हाम्रा सम्पादकहरुले ‘म फलानो पृष्ठ वा फलानो समाचारको मात्रै सम्पादक हुँ’ भनेर प्रष्ट्याउँदै हिड्नु पर्ने दिन धेरै टाढा छैन ।

सञ्चारमाध्यमलाई मर्यादित पार्नुपर्छ भनेर साच्चिँकै लागि पर्ने हो भने प्रेस काउन्सिलले सम्बन्धित सबै सञ्चार संस्थाका सम्पादक–प्रकाशकहरुलाई छलफल गराउन सक्थ्यो । भोलिपल्टै सम्बन्धित अखबारहरुमा ‘यो विज्ञापनको स्रोत फलानो’ हो भनेर प्रकाशन गर्न लगाउन सक्थ्यो । यस घटनालाई सवै सञ्चारमाध्यमलाई सचेत बनाउने एउटा अवसरका रुपमा प्रयोग गर्न सकिन्थ्यो ताकि भविष्यमा यस्ता स्रोत नखुल्ने अमूक विज्ञापनहरुबाट आमपाठकहरु दिग्भ्रमित हुन नपरोस् । प्रेस काउन्सिलकै स्वायत्तताको कुरा गर्ने मानिसको अभाव भइरहेको बेलामा धेरै पहलकदमीको अपेक्षा गर्नु पनि बेकार हुन्छ ।

यो लेखको आसय सम्पादकहरु अधिकारसम्पन्न होउन् अवथा खोपीका देउता मात्रै नबनुन् भन्ने हो । सम्पादकले सम्पादकीय स्वतन्त्रताका लागि प्रकाशकहरुसँग आफ्नो हस्तक्षेपको दायरा बढाउन् । आमपाठक लगायत सबै सरोकारवालाहरुले सम्पादकीय स्वतन्त्रताको दायरा फराकिलो पार्न होस्टेमा हैसे गरौं । तब मात्रै प्रेस स्वतन्त्रताको मर्म जीवन्त हुन्छ र त्यस्तो प्रेसबाट जनताको सूचनाको अधिकार संरक्षणमा टेवा पुग्छ । बेलाबेला पत्रकारहरु प्रेस स्वतन्त्रताको नारा लाउने तर प्रेसका सञ्चालक वा लगानीकर्ताहरु हर हालतमा पैसा कमाउने तिर मात्रै सोच्ने हो भने आमपाठकहरु अझै बढी ठगिन्छन् । अहिलेकै अवस्था कायम रहने हो भने हाम्रा सम्पादकहरुले ‘म फलानो पृष्ठ वा फलानो समाचारको मात्रै सम्पादक हुँ’ भनेर प्रष्ट्याउँदै हिड्नु पर्ने दिन धेरै टाढा छैन ।

पत्रकार आचारसंहिता र जवाफदेहिताका शोधार्थी भानुभक्त आचार्य क्यानडाको ओटावा विश्वविद्यालयमा आबद्ध छन् ।

तपाइँ के बन्नेः लेखनदास, हुलाकी वा पत्रकार ?

जसरी अपराध नगरे पनि अपराध होउन्जेल रमिता हेरिरहने व्यक्ति पनि उक्त अपराधको मतियार भनी सजायँको भागिदार बन्दछ, ठीक त्यसैगरी समाजका गलत गतिविधिहरुलाई बुझेर पनि कुनै स्वार्थका कारण मौन रहने मिडियाहरु पनि सामाजिक अपराधका हिस्सेदार हुन्छन् । तिनले पत्रकारिताका नाउँमा राज्यका सुविधाहरुको दुरुपयोग गर्ने अधिकार छैन ।

कुनै पत्रकार सम्मेलनमा गयो, कुरा सुन्यो, रिपोर्ट बनायो, अनि छाप्यो, बजायो वा अनलाइनमा हाल्यो । यति गरेकै आधारमा तपाइँले आफूलाई पत्रकार दाबी गर्न मिल्छ ? मिल्दैन । अर्काको कुरा सुनेर त्यसैअनुसार लेख्ने व्यक्तिलाई लेखनदास भन्छन् । अर्थात् लेख्ने कुरामा आफ्नो विवेक र समालोचनात्मक क्षमताको प्रयोग गर्न नसक्नु वा दास हुनु । पत्रकारिताका मूल्यमान्यताहरु प्रतिकूल हुने गरी कुनै व्यक्ति वा समूहले दिएको आदेशलाई जागिर जोगाउने बहानामा वा कुनै लालचका कारणले शीरोपर गरी पेसागत धर्मबाट च्युत हुनु पनि लेखनदास हुनु हो ।

श्रमजीवी हुनु र लेखनदास हुनु नितान्त फरक कुरा हुन् । श्रमजीवीले पेसागत मूल्यमान्यताहरुसँग सम्झौता गर्दैन, आचारसंहिताको दायराबाट विमुख हुँदैन, कदाचित् भइहालेमा पनि आफूलाई सच्याउँछ, भूलसुधार गर्छ । लेखनदासले त्यसो गर्दैन । व्यावसायिक मापदण्डहरुमा सम्झौता गर्छ र गल्तीहरुलाई थाहा नपाएझैं गर्छ, पचाउँछ । अचेल ‘श्रमजीवी’ दाबी गर्ने लेखनदासहरुलाई नेता, व्यापारी वा कुनै सरोकारवाला समूहले घरघरमै डिनरका लागि निम्त्याउँछन्, जहाँ डिनर आयोजकका कुण्ठालाई भाषण भनेर सुनिदिनु, औपचारिक प्रश्नहरु सोधिदिनु र यहाँजस्तो विद्वान् भनेर हल्काफुल्का चाप्लुसी समेत गरिदिनु पर्दछ । त्यत्तिले मात्रै पुग्दैन, आ–आफ्ना मिडियामा आयोजकले भनेबमोजिम प्रकाशन/प्रसारण गरिदिनु पर्दछ । उनीहरुले भनेजस्तो गर्न सकियो भने वर्ष दिन नपुग्दै पत्रकारितामार्फत् फलानो क्षेत्रमा अपूर्व योगदान गरेको भनी सम्मान लिने सूचिमा दर्ता हुन सकिन्छ । कुनै पक्ष वा समूहको नुनको सोझो गर्नु र त्यसबापत बेलाबेलामा नगद-जिन्सी थाप्नु भनेको लेखन्दास हुनु हो, पत्रकार हुनु होइन ।

नेपालमा धेरैजसो पत्रकारले हुलाकीको काम गरेका छन्— खबर पुर्याइदिने । हुलाकीले कसैको खबरलाई परिमार्जन गर्न पाउँदैन । सूचनाको विषयवस्तुलाई जस्ताको तस्तै पुर्याउनु नै उसको धर्म हो । तर, पत्रकारहरुले पनि भेला पारिएका सूचनाहरु तस्ताको तस्तै प्रस्तुत गरे, समाचारको विश्वसनीयतमाथि थप अध्ययन गरेनन्, अन्य स्रोतहरुसँग भिडाएर तथ्यलाई रुजु गरेनन् भने पत्रकार कुनै हुलाकी भन्दा फरक हुँदैन । उदाहरणका लागि पुलिसले जे भन्छ, त्यहि पत्यायो, नेताले जे बोल्छ, त्यहि बजायो, कुनै ‘पीडित’ जे भन्यो, त्यहिअनुसार फिचर बनायो भने हुलाकी भइयो, पत्रकार भइएन । यी व्यक्तिहरुले भनेका कुरा जाँच्न तपाइँले के गर्नुभयो वा भएन, त्यसले तपाइँ पत्रकार वा हुलाकी के हो भन्ने निर्धाण गर्दछ ।

नेपालका धेरै पत्रकारहरु विभिन्न कारणले गर्दा आफैं तथ्यहरु खोजेर समाचार बनाउन सक्ने अवस्थामा छैनन् । उनीहरुलाई अरुले नाटक मञ्चन गरेर समाचारमूलक सन्दर्भ बनाइदिनु पर्दछ, जस्तै ः कसैले पत्रकार सम्मेलन गरेर डाकिदिनु पर्दछ वा प्रेस विज्ञप्ति बनाएर अफिसमा इमेल वा फ्याक्स गरिदिनु पर्दछ । अझ, कुनै अनुसन्धानको ठूलो रिपोर्ट छ भने समाचार बनाउन मिल्ने गरी त्यसको संक्षिप्त टिपोट समेत नत्थी गरेर पठाइदिनु पर्दछ । ‘पत्रकार’ पढ्ने फुर्सत् छैन । गतिलो खान्तेपिन्ते नभएका कार्यक्रममा वा कुनै मन्त्री, नेता बिनाका कार्यक्रममा चल्तीको पत्रकार जान भ्याउँदैन । कार्यक्रम सकिए लगत्तै आयोजकले कसले के बोले भनेर पत्रकारलाई फोनमा टिपाइदिनु पर्दछ । ताकि भोलीको अंकमा हाम्रा संवाददाताले जनाएअनुसार भनेर लेख्न पाइयोस् ।

समाचारकै शैलीमा तयारी अवस्थामा प्राप्त हुने यस्ता सूचनालाई ‘जंक इन्फरमेसन’ भनिन्छ, जसलाई पत्रकारले थप पुष्टि नगरीकनै समाचार बनाउँछ । जसरी जंक फुडले मोटोपन, रक्तचापमा वृद्धि, हृदयघात जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ, त्यसैगरी, जंक इन्फरमेसनले पत्रकारको आलोचनात्मक क्षमता घटाउँछ, परनिर्भरता बढाउँछ । जंक इन्फरमेसनमा बानी परेको पत्रकार फिल्डमा भन्दा पनि फेसबुक र ट्विटरजस्ता सोसल मिडियाबाट समाचार खोज्न अभ्यस्त हुन्छ किनभने यो कम खर्चिलो र कम झन्झटिलो छ । कसैको कपि गरेर आफ्नोमा पेस्ट गरे पुगिहाल्यो । यसरी भेला पारिएको ‘जंक इन्फरमेसन’ले नेपाली पत्रकारिताको गुणस्तर ह्वात्तै घटाएको छ ।

अर्कातिर, लेखनदास वा हुलाकीको भूमिकामा भएको व्यक्तिलाई साच्चिकै पत्रकारमा रुपान्तरण गर्ने योजना नेपालका अधिकांश समाचार संस्थामा छैन । एकाधबाहेक पत्रकारको क्षमता अभिवृद्धि गर्न सम्बन्धित मिडियाले सुको खर्च गर्दैनन् । मिडियाका मालिकहरुलाई पत्रकार सुनको फुल पार्ने कुखुराजस्तै हो, जागिर दिएपछि सूचना आफैं खोज्छ भन्ने मात्र थाहा छ । त्यो सूचना जहाँबाट जस्तोसुकै प्रक्रियाबाट प्राप्त भएको किन नहोस् । अझ, पत्रकारिता भन्ने कुरा काम गर्दै गएपछि उसै जानिन्छ भन्नेहरुको एउटा पुस्ता नै थियो, जो अचेल हराउँदै गएको छ । मिसन पत्रकारिताका नाउँमा खुलेका संस्थाहरुले पत्रकारलाई राजनीतिक आग्रह-पूर्वाग्रहको घेराबाट उँभो लाग्न दिएका छैनन् । पत्रकारले आफ्नो ज्ञान, सीप र विवेकको प्रयोग गरेर सर्वसाधारणका लागि समाचार लेख्न सक्दैन, मिडिया मालिकको स्वार्थअनुकूल छ कि छैन, विज्ञापनदाताहरुलाई असर पर्छ कि पर्दैन भन्ने तनाबबाट गुज्रनु पर्दछ । तसर्थ, आफ्नो विवेकलाई बन्धक राखेर मिडिया मालिकको आदेश अनुसार गर्नु पत्रकारको बाध्यता हो । तर, यो बाध्यताले उसलाई पत्रकार कम र लेखनदास बढी बनाइरहेको छ ।

पत्रकारले आफ्नो विवेकलाई बन्धक राखेर मालिकको आदेशअनुसारका विज्ञापन बनाएका दर्जनौं उदाहरण छन् । वि. सं. २०६० कात्तिक २ गते कान्तिपुर दैनिक, द काठमाडौ पोस्ट, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनबाट रसेन्द्र भट्टराईका अन्तर्वार्ता एवम् फिचरहरु महत्वका साथ प्रकाशन/प्रसारण गरियो । ती समाचार एवम् अन्तर्वार्ताहरुमा पाँच डलर खल्तीमा हालेर विदेश भासिएको रसेन्द्र २० वर्षमा फर्कँदा खरबौंको मालिक भएको दलिल गरिएको थियो । त्यसबेला कान्तिपुर र द काठमाण्डु पोस्टका वरिष्ठ पत्रकार सम्पादक युवराज घिमिरे थिए । एउटा व्यक्तिका बारेमा सञ्चारमाध्यमले अतिरञ्जन गर्नु हुँदैन भन्ने पक्कै थाहा थियो, तर मिडिया मालिकहरुका अघि उनको केहि चलेन । अन्ततः युवराज घिमिरेले कान्तिपुरबाट राजीनामा दिए । त्यो समाचार पूर्णतः गलत र कपोलकल्पित थियो भनी समयक्रममा पुष्टि भयो ।

नागरिक दैनिकले चितवन मेडिकल कलेजका निर्देशक डा. भक्तमान श्रेष्ठलाई माओवादीले अपहरण गरेको समाचार प्रकाशन गर्यो । महिनौं सम्म फलोअप समाचारहरु प्रकाशन भइरहे । अन्तमा, कुनै आपराधिक समूहले अपहरणमा परेको समाचार पुष्टि हुँदा समेत क्षमायाचना गरेन । नागरिकका सम्पादकहरुलाई कुन शक्तिले माओवादीका विरुद्धमा उचाल्यो, समयक्रममा थाहा होला । नागरिक दैनिक र यसैको सहप्रकाशन द रिपब्लिका डेलीले राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन सचिव विशाल खनाललाई भ्रष्टाचारी भएको पुष्टि गर्न र अदालतको फैसलालाई प्रभाव पार्न अनेक प्रयत्नहरु गरे । सबै कानुनी एवम् छानबिन प्रक्रियाले विशाल खनाललाई निर्दोष पुष्टि गर्दा समेत ती अखबारहरुले आफ्नो त्रुटि सच्याउने साहस गरेनन् । ती अखबारका मुख्य लगानीकर्तासँग आयोगका तत्कालीन सदस्य डा. लिला पाठकको घनिष्ठ सम्बन्ध भएको र त्यसको दूरुपयोग भएको बुझ्न धेरै समय लागेन ।

यस्तै अर्को एउटा प्रसंग । भारतीय लगानीमा खुलेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) खराब व्यवस्थापनका कारणले वा नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्न नसकेर घाटामा गयो । तर, कम्पनीले उसले नेपाल सरकारलाई करिब एक अर्ब राजस्व बुझाउनु पर्ने थियो । तर सरकारले जति ताकेता गर्दा पनि भारतीय राजदूतावासको रवाफ देखाएर धेरै वर्षसम्म राजस्व नतिरी चलिरह्यो । यो समस्या अझै पनि सल्टिएको छैन । तर, युटिएलको गलत रबैयाबारे मिडियामा टिप्पणीहरु प्रकाशन हुन थाले । आफ्नो बारेमा आलोचनात्मक टिप्पणीहरु आउन थालेपछि युटिएलले ठूला सञ्चारमाध्यममा विज्ञापन दिएर चूप लगाउने रणनीति अख्तियार गर्यो । नभन्दै विज्ञापन पाउने सबै मिडिया चुप भए । जसले विज्ञापन पाएनन् तिनले केहिसमयसम्म लेखे तर त्यो प्रभावकारी भएन । नेपालका मिडियालाई बजारले कसरी चूप लगाउँछ भन्ने गतिलो उदाहरण हो युटिएल प्रकरण । कसैको विज्ञापन प्रकाशन गर्नु भनेको उसका त्रुटि कमजोरीहरुप्रति आँखा चिम्लिनु होइन । विज्ञापन पाउने लालचमा देशको अर्बौंको राजस्व डुबाउने खेलमा प्रत्यक्ष वा परोक्ष रुपमा अधिकांश मिडिया संलग्न छन् । विज्ञापन गुम्ने डरले, जागिर जाने डरले वा कुनै लाभ लिने उद्देश्यले सार्वजनिक महत्वको कुनै कुरा प्रकाशन प्रसारण नगर्नुलाई सेल्फ–सेन्सरसिप भनिन्छ, जसले पत्रकारितामा लेखनदास प्रवृत्तिलाई मलजल गर्दछ ।

कुनै अनुसन्धानात्मक अध्ययन गर्नु पर्दा समयमा तलब समेत नपाउने पत्रकार आफैं खर्च गरेर जान सक्ने अवस्था छैन । सम्बन्धित संस्थाले आवश्यक लगानी गरेर पठाउँदैन । तसर्थ, गहन रिपोर्टिङका लागि कुनै एनजिओ, सेना-पुलिस वा सरकारी निकायको भर पर्नु पर्दछ, जसले पत्रकारलाई लाग्ने सामान्य खर्च मात्रै व्यहोर्दैनन्, आकर्षक भत्ता समेत दिन्छन् । मानौं, सेनाले सबै खर्च व्यहोरेर कुनै घटना देखाउन पत्रकारलाई लगेपछि उसले पनि आफ्नो पक्षमा सकारात्मक सन्देश प्रवाह होस् भन्ने चाहन्छ । विभिन्न देशमा शान्ति सेनामा खटिएको नेपाली सेनाले आफ्नो पौरखबारे रिपोर्टिङ गर्न पत्रकार लैजाने गरको छ । त्यहाँको स्थलगत अध्ययन गरेका पत्रकारले त्यहाँको सैनिक ब्यारेकले हतियार तथा बन्दोबस्तीका सामग्रीमा भएको भ्रष्टाचार बाहिर ल्याउन सक्दैन किनभने पत्रकार सेनाको रसदपानीमा त्यहाँ पुगेको छ । यो सुत्र एनजिओहरुमा अझ बढी लागु हुन्छ, जसले आफ्नो पौरख देखाउन मोटो भत्ता दिएर पत्रकारहरुलाई विभिन्न ठाउँमा स्थलगत भ्रमण गराउँछन् । सम्बन्धित पत्रकारहरुले एउटा दुईटा घटनामा आधारित भएर देशमै भव्य परिवर्तन भएको समाचार लेख्छन् । आफू कसको प्रायोजनमा त्यो स्थानमा पुगें वा कुन प्रक्रियाबाट त्यो समाचार प्राप्त भएको हो भनेर पाठकलाई भन्दैनन् । कुरा नचपाइकन भन्नु पर्दा यस्तो गर्नु व्यावसायिक बेइमानी हो, पत्रकारिताका नाउँमा लेखनदास प्रवृत्ति हो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले विभिन्न जिल्लामा सञ्चालित गतिविधिले पारेको सकारात्मक प्रभावका बारेमा महिनाको एउटा समाचार प्रकाशन गरिदिए निश्चित रकम उपलब्ध गराउने भनी शिक्षक मासिकलाई दुई वर्षअघि एउटा प्रस्ताव पठाएको थियो । त्यो प्रस्तावलाई उक्त पत्रिकाले स्वीकार गर्यो कि गरेन, त्यो थाहा भएन । तर, यसले खेलकुद क्षेत्रमा हुने म्याच फिक्सिङ जस्तो खतरनाक प्रवृत्तिलाई उजागर गर्दछ । भारतमा यसलाई ‘पेड न्युज’ (सःशुल्क समाचार) भन्न थालिएको छ । अरुको पारदर्शिताका बारेमा गाली, आलोचना, उपदेश गरेर नथाक्ने मिडियाले कुन कुन संस्थाबाट के–कस्तो सर्तमा कसरी नगद वा जिन्सी वा अन्य प्रकारको सहयोग प्राप्त गरिरहेको छ भन्ने कुरा सार्वजनिक गर्नु आवश्यक छ । यसले गर्दा मिडियाको पारदर्शिता र जवाफदेहिता बढ्छ । कुन मिडिया कोसँग किन वफादार भइरहेको छ भन्ने कुरा सर्वसाधारणलाई थाहा हुन्छ ।

पत्रकारिता जागिर मात्रै होइन, यो समाजलाई जीवन्त राख्ने अभियान हो । सामाजिक हितविरुद्ध हुने गतिविधिहरुबाट सञ्चार संस्था र पत्रकारहरुसमेत टाढा रहनु पर्दछ । जसरी अपराध नगरे पनि अपराध होउन्जेल रमिता हेरिरहने व्यक्ति पनि उक्त अपराधको मतियार भनी सजायँको भागिदार बन्दछ । ठीक त्यसैगरी समाजका गलत गतिविधिहरुलाई बुझेर पनि कुनै स्वार्थका कारण मौन रहने मिडियाहरु पनि सामाजिक अपराधका हिस्सेदार हुन्छन् । तिनले पत्रकारिताका नाउँमा राज्यका सुविधाहरुको दुरुपयोग गर्ने अधिकार छैन । पत्रकारिताको आदर्शलाई चिनौं, लेखनदास र हुलाकी हुन छाडौं । सक्रिय पत्रकारिता गरौं ।