पत्रकारिताको पाठ्यक्रममा भद्रगोल

२०७३ मंसिर २९ गते मा अन्नपूर्ण पोस्टमा प्रकाशित 

news1कुनै पनि विषयको पाठ्यक्रम विगतको सिकाइबाट परिष्कृत, वर्तमानका अभ्यासहरूमा आधारित र भविष्य उन्मुख हुनुपर्छ । अर्थात् एउटा खास विषय अध्ययन गरेको व्यक्तिको जीवनकालभरि पाठ्यक्रमले मजबुत पृष्ठभूमि तयार पार्न सक्नुपर्दछ । यस अर्थमा विद्यार्थीको भविष्यको मार्गचित्रण गर्ने दस्ताबेज हो पाठ्यक्रम, जसको लागि विषयविज्ञ, शिज्ञाविद् र राष्ट्रिय नीतिनिर्माताहरूको गहन छलफल र गम्भीर गृहकार्य आवश्यक पर्दछ । यस्तो महत्त्वपूर्ण काममा संलग्न हुने अवसर पाउनु भनेको प्राज्ञिक प्रतिष्ठा र गौरवको विषय हो ।

तर नेपालमा पाठ्यक्रम निर्माणलाई सामान्यतः औपचारिकता निभाउने परम्पराको रूपमा लिइन्छ । पाठ्यक्रमको मस्यौदा तयार गर्ने समिति र त्यसलाई स्वीकृत गर्ने निकाय पाठ्यक्रममा भएका गम्भीर लापरबाहीलाई वास्ता गर्दैनन् । विषय शिक्षकहरूले व्यक्तिगत वा समूहगत रूपमा आवाज उठाउँछन्, तर त्यसलाई गम्भीरतापूर्वक सुनिदिने निकाय छैन । अर्कोतिर, त्यस्ता टिप्पणीहरूलाई पाठ्यक्रमका मस्यौदाकारहरूले इगोका रूपमा लिने गरेकाले हत्तपत्त टिप्पणी गर्न पनि हिच्किचाउनुपर्ने अवस्था छ । परिणामस्वरूप समयसापेक्ष र भविष्यलाई सुहाउँदो शिक्षा लिनबाट विद्यार्थीहरू वञ्चित भइरहेका छन् ।

पाठ्यक्रममा हुने यस्तो बेथितिको ज्वलन्त उदाहरण हो, कक्षा ११ र १२ भएको आमसञ्चार र आमसञ्चार र पत्रकारिताको पाठ्यक्रममा भएको भद्रगोल । पत्रकारिता छिनछिनमा अपडेट भइरहनुपर्ने विषय हो । यसको पाठ्यक्रम पनि हरेक वर्ष नियमित रूपमा अपडेट हुनुपर्ने हो । तर, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले पत्रकारिताको पाठ्यक्रम लागू गरेको डेढ दसकपछि आमसञ्चार र पत्रकारिता विषयको पाठ्यक्रम परिमार्जन भयो । झट्ट हेर्दा यो कुनै निम्न माध्यमिक तहमा पढ्ने विद्यार्थीले शिक्षकलाई बुझाएको गृहकार्यजस्तो लाग्छ । यसमा विषयवस्तु, प्रस्तुति, हिज्जे, व्याकरणलगायतका सयौं त्रुटि छन्, जसका लागि यो पाठ्यक्रम तयार पार्ने र त्यसलाई आँखा चिम्लेर स्वीकृत गर्ने दुवै पक्ष जिम्मेवार छन् ।

यो पाठ्यक्रमलाई त्रुटिहरूको पिरामिड भने फरक पर्दैन । कक्षा ११ को पाठ्यक्रममा जम्मा ८३१ शब्द छन्, जसमा हिज्जेसम्बन्धी कम्तीमा आठवटा, ठाउँ छोड्ने वा जोड्नेसम्बन्धी १२ वटा, ठूलो वा सानो वर्णसम्बन्धी तीनवटा, गलत शब्द प्रयोग पाँचवटा र अन्य व्याकरणीय त्रुटि (जस्तैः बहुवचन, अर्थ नखुल्ने वा अपूरा वाक्य, दोहोरिएका र हटाउनुपर्ने शब्दसमेत) ११ वटा छन् । त्यसैगरी कक्षा १२ को पाठ्यक्रममा जम्मा ७१२ शब्द छन्, जसमा हिज्जेसम्बन्त्री त्रुटि तीन, ठाउँ छाड्ने वा जोड्नेसम्बन्धी त्रुटि ४६, अनावश्यक शब्द ९, व्याकरणसम्बन्धी अन्य त्रुटि कम्तीमा चारवटा छन् ।

कक्षा ११ को पाठ्यक्रमको सुरुमै छ एकाइ जनाउन ‘सिक्स’ लेख्नुपर्ने ठाउँमा ‘सेक्स’ भएको छ । अमेरिकी सञ्चारविद् लास्वेलको हिज्जेलाई छुट्ट्याएर ‘लास वेल’ बनाइएको छ भने अंग्रेजीमा एउटै लेखिने ‘न्युजपेपर’ शब्दलाई न्युज र पेपरमा छुट्ट्याइएको छ । ‘बडी’ लेख्नुपर्ने ठाउँमा ‘ब्वाइज्’ लेखिएको छ । उल्टो पिरामिड ढाँचाको समाचार लेखन जनाउन ‘प्यारामेडिकल’ लेखिएको छ, जबकि पछिल्लो शब्दको अघिल्लो अवधारणासँग गोरु बेचेको साइनोसमेत लाग्दैन । प्यारामेडिकल शब्द चिकित्सा र औषधी विज्ञान क्षेत्रसँग सम्बन्धित छ ।

पाठ्यक्रममा ठूलो वर्णको मनलाग्दी प्रयोग गरिएको छ । एकरूपता छैन । उदाहरणका लागि कक्षा ११ को पाठ्यक्रमको एकाइ ४ मा रहेको ‘न्युज राइटिङ’ मा राइटिङ शब्द सानो वर्णबाट सुरु भएको छ भने त्यसलगत्तै तल्लो युनिटमा ‘एडिटोरियल राइटिङ’ मा राइटिङ शब्दको आर क्यापिटल छ । लेआउटमा समेत कुनै बुँदा अगाडि, कुनै पछाडि छ भने क्रमांक राख्दासमेत कुनै बुँदामा थोप्लो दिइएको छ त कुनैमा नम्बर राखिएको छ ।

अब विषय वस्तुले समेटेको क्षेत्र र त्यसको प्रस्तुतिका बारेमा कुरा गरौं । कक्षा ११ को पहिलो एकाइमा आमसञ्चार र पत्रकारिताको परिचय भने पनि पत्रकारिताको बारेमा केही पनि समेटिएको छैन । यसै एकाइमा रेखीय र गैररेखीय सञ्चारबारे उल्लेख छ । एरिस्टोटल र लास्वेलले प्रतिपादन गरेका दुई उदाहरणसमेत राखेर रेखीय सञ्चारलाई प्रस्ट्याउने प्रयास पाठ्यक्रमले गरेको छ भने गैररेखीय सञ्चारको लागि कुनै मोडेल प्रस्ताव गरेको छैन । यसले विद्यार्थीको सिकाइलाई असन्तुलित बनाउँछ ।

एकाइ ६ मा प्राक्टिकम युनिटमा दिइएका निर्देशनहरू स्पष्ट छैनन् । विद्यार्थीहरूलाई व्यक्तिगत र सामूहिक कार्य गर्नु भनिएको छ, तर त्यो कति लामो हुने, कस्तो संरचनाको प्रयोग गर्ने, कुनै शैली अपनाउने, विषयवस्तुको सारांश लेख्ने हो कि विश्लेषणात्मक लेख लेख्ने हो भन्ने उल्लेख छैन । यसले विद्यार्थीलाई मात्रै होइन, शिक्षकलाई समेत अलमल पार्छ । सामान्यतः पाठ्यक्रम कति पृष्ठ वा शब्दको हुनुपर्छ भनेर सीमा तोकिएको हुँदैन । पाठ्यक्रम निर्माताले लक्षित उद्देश्यहरू हासिल गर्न र शिक्षक-विद्यार्थीको सहजताको लागि जतिसुकै लामो पनि बनाउन सक्छन् । त्यसैले यति शब्दमा सीमित हुनुपरेकाले यस्तो पाठ्यक्रम बन्यो भनेर उम्कन पाउने अवस्था हुँदैन ।

कक्षा ११ को शिक्षण-सिकाइ रणनीति भन्ने खण्डमा ‘ह्युरिस्टिक मेथड’ प्रयोग गर्ने उल्लेख छ, जसलाई समस्या समाधान विधि भन्न सकिन्छ । यस विधिअन्तर्गत शिक्षकले विद्यार्थीहरूलाई विभिन्न व्यावहारिक समस्या देखाइदिने र विद्यार्थीले त्यो समाधान खोज्ने अभ्यास गर्दछन् । तर यो पाठ्यक्रम परम्परागत शिक्षककेन्द्रित शिक्षण प्रक्रियामा आधारित छ । विभिन्न विषयमा शीर्षकहरू दिइएका छन् र तिनको सामान्य परिचय दिने गरी पाठ्यक्रम तयार पारेको देखिन्छ । तर हरेक शीर्षकमा के-कस्ता व्यावहारिक समस्या पहिचान गर्ने र त्यसलाई समाधान गर्न शिक्षकहरूले विद्यार्थीहरूलाई कसरी परिचालन गर्ने भन्ने उल्लेख छैन । पाठ्यक्रममा ती सबै समेट्न नसकिए विषयगत शिक्षण निर्देशिका (टिचिङ म्यानुअल) को व्यवस्था पनि गर्न सकिन्छ, तर त्यो हालसम्म उपलब्ध छैन । त्यतिञ्जेल यो पाठ्यक्रम अध्ययन–अध्यापनमा संलग्न सबै कुहिरोको कागसरह हुनेछन् ।

पाठ्यक्रमले तय गरेका उद्देश्यहरू र पाठ्य विषयवस्तुमा तालमेल छैन । उदाहरणको लागि कक्षा ११ को पाठ्क्रमको साधारण उद्देश्य विद्यार्थीहरूलाई पत्रकारिता र आमसञ्चार शिक्षाका पछिल्ला अभ्यासहरूबारे परिचित गराउनु रहेको छ । तर ११ र १२ को समेत पाठ्यक्रममा अनलाइन पत्रकारिताबारे एउटा शब्दसमेत उल्लेख छैन । बरू एकैचोटि चौथो एकाइमा ‘सोसल मिडियाको प्रयोग’ बारे पठाउने उल्लेख छ । रमाइलो कुरा के छ भने दुवै पाठ्यक्रममा सिफारिसमा गरिएका पुस्तकहरू कम्तीमा १२ वर्ष पुराना छन्, जसमा अनलाइन वा सोसल मिडियाको छनकसमेत छैन ।

दुवै कक्षाको पाठ्यक्रममा प्रेस एवं सम्पादकीय स्वतन्त्रताका बारेमा कहीँकतै उल्लेख छैन तर पत्रकारिता कानुनका बारेमा उल्लेख छ । प्रेस स्वतन्त्रताको अवधारणाबारे विद्यार्थीलाई जानकारी नदिई पत्रकारिता सिकाउन खोज्नु भनेको पत्रकारिताको मूल मर्मलाई बेवास्ता गर्नु हो । राजनीतिक भाषामा भन्नुपर्दा यो पाठ्यक्रम पश्चगमन उन्मुख छ, जसले विद्यार्थीलाई भूतकालतर्फ फर्काउँछ र समयसान्दर्भिक रूपमा दक्ष बनाउन सक्दैन ।

यसअघिको पत्रकारिता विषयको पाठ्यक्रम पनि भद्रगोल थियो । विषयको नाउँ आमसञ्चार र पत्रकारिता भनिए पनि पाठ्यक्रमभित्र पत्रकारिताको अवधारणा बुझाउने कुनै खण्ड थिएन । त्यसैगरी समाचारको अवधारणा भन्ने एकाइको सुरुमा रिपोर्टरको परिचय राखिएको थियो भने रिपोर्टिङसम्बन्धी एकाइमा समाचारका अवधारणा थिए । विषय शिक्षकहरूले आवश्यक परिमार्जनको लागि उच्च शिक्षा परिषद्को ध्यानाकर्षण गराए पनि विभिन्न औपचारिकता र झन्झटहरूले त्यो सम्भव भएन । पहिलो पाठ्क्रम लागू भएको डेढ दसकपछि नयाँ पाठ्यक्रम लागू हुँदैछ तर त्यो पहिलेभन्दा त्रुटिपूर्ण र भद्रगोल छ ।

डिजिटल प्रविधिले संसारको कुनै पनि स्थानमा कस्तो शिक्षा पद्धति अवलम्बन गरिएको छ, कसरी पाठ्यक्रम तयार हुन्छ र त्यसमा सरोकारवालाहरूको कस्तो भूमिका रहन्छ भन्ने घरै बसेर पनि थाहा पाउन सकिन्छ । तसर्थ सरोकारवालाहरूलाई थाहै नदिई मैले जे लेखें, त्यही पाठ्यक्रम हो भन्ने धङ्धङीबाट ‘प्राज्ञिक’ भइखाएकाहरूले मुक्त हुन आवश्यक छ । पाठ्यक्रमको विकास र सुधारको लागि खुला छलफल हुँदैनन् । औपचारिकताको लागि सुझाव लिइटोपल्ने चलन छ, तर छलफलमा दिइएका सुझावहरूलाई बेवास्ता गर्ने, पाठ्यक्रमको अन्तिम खाकामा छलफलै नगरी स्वीकृत गर्ने परिपाटीको सिकार अहिलेको पाठ्यक्रम बनेको छ । आफूले जति जानेको छ, त्यही ठीक भन्ने लिंडेढिपीले पत्रकारिताको गुणात्मक विकासलाई अवरुद्ध पार्छ ।

Leave a comment